मिडिया काउन्सिल विधेयक फिर्ता गर्न माग

0
Shares

बुटवल, (नेस)
नेपाल प्रेस युनियनले कतिपय विधेयकहरु पत्रकारलाई बाँध्ने गरी आएको भन्दै त्यसलाई फिर्ता गर्न माग गर्दै प्रतिनीधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ ।

मन्त्रिपरिषदबाट पारित भई संसदमा पेश भएको नेपाल मिडिया काउन्सिल सम्वन्धि विधेयक, संसदमा बिचाराधिन रहेको विज्ञापन नियमन गर्न बनेको विधेयक, सुचना प्रविधिका सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक र संसदमा लैजाने तयारी भएको आमसञ्चार विधेयक सहित पाइपलाइनमा रहेका अन्य विधेयकमा गरिएको जरिवाना तथा क्षतिपूर्ती सम्वन्धि व्यवस्था नेपालको स्वतन्त्र पत्रकारिताको घाँटी थिच्ने, पत्रकारितालाई घुमाउरो किसिमले निरुत्साहित गर्ने तथा सत्ता र शक्तिमा रहेकाहरुको भक्तिगानमा पत्रकारितालाई लैजाने नियत देखिएकाले त्यसलाई फिर्ता गर्न युनियनले माग गरेको हो ।

नेपाल प्रेस युनियनले ७७ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालय मार्फत प्रतिनीधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई छुट्टा छुट्टै पठाएको ज्ञापन पत्रमा प्रेस काउन्सीललाई विस्थापित गरि मिडिया काउन्सील गठन गर्दै गर्दा यसको स्वायत्तता र स्वतन्त्र छविलाई समेत किनारा लगाउने प्रयास भएको उल्लेख गरिएको छ ।

नेपाल प्रेस युनियन रुपन्देही मंगलबार ईलाका प्रशासन कार्यालय रुपन्देही मार्फत पठाएको ज्ञापन पत्रमा सरकारले ल्याउने तयारी गरेको आमसञ्चार विधेयकका नाममा श्रमजिवी पत्रकारहरुको हकहितका लागि ल्याइएको श्रमजिवी पत्रकार ऐनलाई खारेज गरि श्रम ऐन मार्फत पत्रकारलाई नियमन गर्न खोजेकोमा युनियनको असहमती रहेको उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझाउँदै प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसालले विधेयकको प्रकाशन र प्रसारण गर्न नहुने तथा त्यसो गरेको अवस्थामा तोकिएको सँजाय र जरिवाना पनि पत्रकारीतालाई प्रतिवन्ध लगाउने नियतबाट ल्याइएको बताउनु भयो ।