स्वर्गद्वारीमा गौमूत्रबाट औषधि

0
Shares

नेपाल समाचारपत्र, प्युठान
प्यूठानको स्वर्गद्वारी आश्रमले गाईबाट संकलित मुत्र प्रशोधन गर्न थालेको छ । आश्रमले झन्डै डेढ महिना अघिदेखि संकलित गाईको पिसावलाई प्रशोधन गरि औषधिको रूपमा बिक्री गर्न सुरु गरेको हो।

आश्रमका पुजारी बाबुराम न्यौपानेले झन्डै डेढ महिनादेखि गौअर्घ्यका रुपमा प्रशोधित गाईको मुत्र बिक्री गर्न सुरु गरिएको बताउनुभयो। ‘आश्रमले प्रशोधन गरेको गहुंत स्वर्गद्धारी दर्शन गर्न आउने भक्तजनहरुले किनेर लैजानुहुन्छ’, उहाले भन्नुभयो– ‘यस्ले विभिन्न रोगहरु निको पार्न सक्छ।’ सुरुवाती चरण भएकाले यस्को बिक्रीदर पनि बढ्दै गएको उहाले जानकारी गराउनुभयो।

आश्रममा रहेका ३ सय ५० गाईबाट दैनिक ४० लिटर बढी मुत्र संकलन हुँदै आएको छ। ८० लिटर गाई मुत्रलाई उमालेर बाफ निकाल्दै पुरै प्रशोधित गर्दा ४० लिटर गौअर्घ्य उत्पादन हुने गरेको छ । गौअर्घको मूल्य प्रतिलिटर १ सय ५० रुपैयाँ तोकिएको छ । गहुँत आठरदश दिन राखि सकेपछि प्रशोधन प्रक्रिया सुरु गरिने न्यौपानेले बताउनुभयो । गहुँत प्रशोधनका लागि भारतबाट मेसिन ल्याइएको छ। एकै स्थानमा खन्याइएको गहुँतलाई वाष्पीकरण गरि तरल झर्ने गरि मेसिन जोडिएको छ।

न्यौपानेका अनुसार गौअर्घ्य बनाउँदा हर्रोबर्रो र अमला लगायतका जडिबुटीहरु पनि मिसाउने गरिएको छ। संकलित मुत्रलाई प्रशोधन गरी ग्यास्ट्रिक, अल्सर तथा पेटका अन्य समस्यामा औषधीको रुपमा प्रयोग गर्न सकिन्छ। गाईको हेरचाहका लागि करिब ३५ जना खटिएका छन्। यस्मा धेरैजसो महिला छन्।

दिउँसो चराउनको लागि तीन जना पुरुष खटिन्छन। गाई हेरचाहका लागि मासिक पारिश्रमिक उपलब्ध गराउने गरिएको छ। कामदारहरुलाई खाने बस्ने व्यवस्था पनि मन्दिर व्यवस्थापन समितिले गरेको छ।स्वर्गद्धारीमा स्थानीय गाईहरू मात्रै पालन गरिने समितीले बताएको हो ।