खण्डहर बन्दै मुक्त हलिया बस्ती

0
Shares

विमल विष्ट, डोटी
डोटीको पुर्वीचौकी गाउँपालिका–२ बगलेकमा मुक्त हलिया पुर्नस्थापनाका लागि निर्माण गरिएको मुक्त हलियाको बस्ती दिनहुँ खण्डहर बन्दै गएको छ । पुस्तौँ देखी मालिकको घरमा हलो जोतेका १८ परिवारका लागि स्थापना गरिएको उक्त बस्तीमा कोही पनि नबस्दा उक्त बस्ती खण्डहरमा परिणत हुँदै जान थालेको छ ।

सरकारले यसै वर्ष पुर्नस्थापनाको काम सक्ने बताए पनि प्रभाकारी कार्यान्वयन नहुँदा वास्तबीक पुर्नस्थापना हुनेमा शंङ्का पैदा गरेको छ । सरकारले निर्माण गरेको उक्त बस्तीमा पानी बिजुली नहुँदा मुक्त हलियाहरु बस्न नसकेको उक्त सामुहिक बस्तीमा घर भएकी मुक्त हलिया चन्नरी कोलीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘सरकारले घर बनायो तर यहाँ पानी बिजुली बत्ती छैन, हामी कसरी बस्ने ।’ हलिया बस्ती स्थापनाका लागि बिद्यालय, खानेपानी, विद्युत् तथा न्यूनतम बिकासका पूर्वाधार हुनपर्ने कार्यबिधीमा उल्लेख भए पनि बगलेकको जंङ्गलमा बस्ती बसाउँदा त्यहाँ समस्या भएको मुक्त हलियाहरु बताउँछन् ।

हलियालाई पुनः हलिया नै बनाई राख्नका लागि बगलेकको जंङ्गलमा बस्ती राख्न प्रपन्च गरिएको हलिया अभियान्ता गोरखबहादुर सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘हलिया सामुदायका व्यक्ती हिजो कै अबस्थामा राख्नका लागि षड्यन्त्र भई जंङ्गलमा बस्ती बिसाईएको हो ।’ कर्मचारी अभाब भएका कारण जिल्लाभरी मर्मत तथा निर्माण भएका सबै घरको अनुगमन गर्न नसकिएको घर अनुगमनको जिम्मा पाएका जिल्ला मालपोत कार्यालय डोटीका प्रमुख सुनिलसागर जोशीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामी थोरै कर्मचारी छौँ, त्यसैले प्रत्येक घरको अनुगमन गर्न सकिने अबस्था छैन, सबै कर्मचारी पुर्ति भएपछि मात्रै अनुगमन गर्न सक्छौँ ।’

मुक्त हलिया पुर्नस्थापना बस्तीमा एक घर पनि मापदण्डअनुसार नबनेको स्थानियको आरोप छ । बस्तीमा जस्तापाताले छाएको उक्त घर भूईताले मात्र छन् भने उचाई ७ फिट भन्दा तल रहेको छ । भवन निर्माण भएपनि हलियाहरु घरमा नबस्दा झन समस्या भएको पुर्विचौकी गाउँपालिकाका स्थानिय चक्र कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “मापदण्ड बिपरितका घर त बनेकै थिए तर मुक्त हलियाहरु नबस्दा झनै समस्या उत्पन्न भयो ।” पुर्विचौकी गाउँपालिकको बगलेकमा मापदण्ड अनुसारका घर नबनेको जानकारी आफुलाई पनि प्राप्त भएको अनुगमानको जिम्मा पाएको मालपोत कार्यालय डोटीका प्रमुख जोशीले स्वीकार गर्नुभयो ।

दुईकोठे भबन निर्माणको नक्सा भए पनि सानो आकारको टहरा जस्तो घर निर्माण गरेर मुक्त हलियाले अनुदान लिने गरेका छन् । नेपाल सरकारले जग्गा खरिदका लागि रु २ लाख र घर निर्माणका लागि रु ३ लाख २५ हजार दिएको भए पनि घर निर्माण गर्दा करिब रु १ लाख १२ हजार मात्र खर्च गरेको एक मुक्त हलिया दिपक कोलीले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “घर बनाउन रु १ लाख १२ हजार खर्च गरियो अन्य रकम कहाँ सकियो थाहा छैन् ।” बस्तीमा निर्माण गरिएका घरको झ्याल ढोका समेत नभएको मुक्त हलिया समाजका पुर्ब अध्यक्ष डम्मर बिकले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “हलिया बस्तीमा झ्याल ढोका समेत छैनन् कसरी मान्छे बस्छन झ्याल ढोका नभएको घरमा ।”

पूर्वीचौकी गाउँपालिका–२ बगलेक (बाटे ओखड) को जमिन कसरी खरिद गरियो रहस्यपुर्ण छ । विसं २०७४ असारमा नमुना हलिया बस्ती निर्माणका लागि अन्तिम तयारी गरेको अवस्थामा आर्थिक चलखेल भएको खबर बाहिरीएपछी जग्गा खरिदकालागि काटिएको रु ७८ लाखको चेक कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा जम्मा गरिएको थियो ।

हनुमान हर्टिकल्चर प्रा.ली.को नाममा रहेको उक्त जमिन बिसं २०७५ असारमा फेरी १८ जनाले व्यक्तीगत जग्गा खरिद गरेर पास भएको छ । मुक्त हलिया बस्दै आएको ठाउँबाट एक घण्टाको दुरीमा रहेको उक्त जमिन सुबिधा नरहेको जानकारी हुँदाहुँदै पनि किन जमिन खरिद गरियो यो भने रहस्यको बिषय बनेको छ ।