दक्षिकाली नगरमा सफाई अभियान

0
Shares

काठमाडौं, (नेस)
जनप्रतिनिधीले नगरपालिकाको जिम्मेवारी सम्हालेको २ वर्ष पुरा भएको अवसरमा दक्षिणकाली नगरपालिकाले नगर क्षेत्र सरसफाई आरम्भ गरेको छ ।

‘स्वच्छ, सुन्दर, फोहोर रहित हराभरा, हाम्रो दक्षिणकाली नगरपालिका अभियान’ भन्ने नाराका साथ अभियान शुरु गरिएको हो । अभियान शुभारम्भका क्रममा मंगलबार दक्षिणकाली नगर–५ शेषनारायण मन्दिर आसपास र सोही नगरको वडा नं–६ दक्षिणकाली मन्दिर आसपासको मुल बाटोमा डोजर समेत परिचालन गरी सरसफाई गरिएको हो ।

औपचारिक र खर्चालु कार्यक्रममा केन्द्रित हुनु भन्दा परिणाममुखी कार्यक्रमलाई जोड दिर्दै नगर सरसफाईलाई अभियानका रुपमा अघि बढाइएको नगर प्रमुख मोहन बस्नेतले बताउनुभयो । नगर क्षेत्रको फोहोरलाई स्रोतमा छुट्याएर पुनः प्रयोगमा ल्याइने बताउँदै उहाँले भन्नुभयो–‘केही दिनभित्र हाम्रो नगरपालिकाभित्रका धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्र स्वच्छ र हराभरा हुनेछन् ।’

कुहिने फोहोरलाई मल बनाएर पुनः प्रयोगमा ल्याउने नगरको योजना छ । जथाभावी फोहोर फ्याक्ने र कानून विपरितका अन्य गतिविधी नियन्त्रण गर्न नगरपालिकाले नगरका विभिन्न स्थानमा सीसी क्यामेरा जडान गर्ने भएको छ । नगरभित्र कुनै पनि स्थानमा फोहोर फालेको देखिएमा, प्रमाणित भएमा तत्कालै कार्वाही प्रकृया अघि बढाइने दक्षिणकाली नगर फोहोर व्यवस्थापन समितिका संयोजक श्यामबहादुर खत्रीको दावी छ ।

अभियानलाई प्रभावकारी बनाउन ‘चिनाउनु छ दक्षिकाली, बनाउसँधै हरियाली’, ‘हाम्रो खोला हाम्रो नाली, सफा राख्छौ सँधैभरी’, ‘सफा राखौं हाम्रो घर, बल्ल हुन्न रोगको डर’ जस्ता सचेतना मुलुक नारा अंकित प्लेकार्ड र फ्लेक्स सहितको ¥यालीले नगर परिक्रमा गरेको थियो । नगर पदाधिकारी, कर्मचारी, सामुदायिक प्रहरी, नगर क्षेत्रका सरकारी र गैर सरकारी कार्यालयका प्रतिनिधी ¥यालीमा सहभागी थिए ।