सार्वजनिक खरिद ऐन संशोधन हुन्छ: पोखरेल

0
Shares

भक्तपुर । कार्यवहाक प्रधानमन्त्री एवम् रक्षा मन्त्री इश्वर पोखरेलले सार्वजनिक खरिद ऐनका केही प्रावधान विकासको बाधकको आधार भएकाले उक्त ऐन संशोधन गरिने बताउनुभएको छ ।

उहाँले केही ठुला निर्माण व्यवसायीले निर्माण कार्यको ठेक्का सम्झौता गरि २० प्रतिशत मोभिलाइजेशन लिने तर राजनीतिक पहुँचका आधारमा काम नगर्ने परिपाटीको विकास भएकाले त्यस्तो प्रणालीको अन्त्य गर्न ऐन नै संशोधन गर्ने तयारी भइरहेको बताउनुभयो ।

भक्तपुरको नगरकोटस्थित तेलकोटमा प्रदेश सभा सदस्य स्वर्गिय हरिशरण लामिछानेको नाममा निर्माण हुन लागेको तेलकोटदेखी भट्टेडाँडासम्मको साढे सात किमि हरिगुरु मार्गको सडक सिलान्यास गर्दै रक्षामन्त्री पोखरेलले विकासको काम कुनै पार्टी बिशेषको नहुने भएकाले सबै पार्टी मिलेर विकास र समृद्धिको अभियानमा एकजुट हुन आग्रह गर्नुभयो । उहाँले नगरकोटलगायतका ठुला निर्माण कार्यमा ढिलासुस्ती गर्ने, आलटाल गर्ने, लापरवाही गर्ने र गुणस्तरहिन निर्माण कार्य गर्ने व्यवसायीलाई कारवाहीको दायरामा ल्याउने बताउनुभयो ।

मन्त्री पोखरेलले सरकारले मुलुकको विकास र समृद्धिको आधार निर्माण गरिसकेकाले आर्थिक बर्ष ०७६÷०७७ विकासको बर्ष हुने उल्लेख गर्नुभयो । उहाँले मुलुक संघीयतामा गइसकेकाले प्रदेश र स्थानीय सरकारलाई आफ्नो अधिकारको पुरा उपयोग गर्न समेत दुवै तहका सरकारलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल कुमार भट्टराई, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका उपप्रमुख बिना बास्तोला, प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी तिमिल्सेनालगायतले अब भाषणबाट मात्र विकास नहुने भएकाले सबै जनप्रतिनिधीहरुले आ–आफ्नो जिम्मेवारी पुरा गर्न सकेमात्र समृद्धि सम्भव भएको बताउनुभयो ।

मन्त्री पोखरेलले केन्द्र सरकारको २ करोड ८५ लाख र चाँगुनारायण नगरपालिकाको ५ करोड ६१ लाख गरि ८ करोड ४७ लाख लागतको साढे सात किमि सडक निर्माण कार्यको सिलान्यास गर्नुभयो । हरिगुरु मार्ग नामाकरण गरिएको उक्त सडक ६ महिनाभित्र निर्माण सम्पन्न हुने चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले जानकारी दिनुभयो ।