मादक वा लागूपदार्थ सेवनको असर, धार्मिक स्थल ब्यवस्थापन समितिमा निषेध

0
Shares

गंगा बराल, काठमाडौ । मादक पदार्थ वा लागूपदार्थ सेवन गर्ने व्यक्ति धार्मिकस्थल व्यवस्थापन समितिकोे सदस्य समेत हुन नपाउने भएका छन ।
सरकारले गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ मा उक्त कुरा उल्लेख गरिएको छ ।

संघीय संसद सचिवालय सिंहदरवारमा दर्ता भएको उक्त विधेयकमा गुठीको एकीकृत बिकास, सञ्चालन, व्यवस्थापन र प्रशासनिक काम गर्नका लागि राष्ट्रिय गुठी प्राधिकरण बनाउने उल्लेख छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यवस्थित गरी सर्वसाधारणको हित कायम गर्न तथा गुठी जग्गाको संरक्षण, उपयोग र व्यवस्थापन गर्र्न उक्त विधेयक ल्याइएको बताउनुभयो ।

कार्यालय काठमाडौंमा नै रहने उक्त प्राधिकरणले तोकिएबमोजिमका चल अचल सम्पत्ति प्राप्त गर्न, भोग गर्न, कुनै प्रकारणले हक हस्तान्तरण गर्न तथा आवश्यकताअनुसार व्यवस्थापन गर्न सक्नेछ ।

प्राधिकरणले ऐनमा व्यवस्था भएकोमा बाहेक गुठी जग्गामा गुठीको स्वामित्व छोडिदिन, सरकारको नीति विपरीत गुठी ऐलानी जग्गालाई गुठी रैतान नम्बरी जग्गा वा गुठी अधिनस्थ जग्गामा दर्ता गर्न र धार्मिकस्थल र गुठाीको धार्मिक कार्यमा बाधा पर्ने वा प्राधिकरणलाई नोक्सान हुने कुनै कार्य गर्न पाउने छैन ।
प्राधिकरणको काम, कारवाही, रेखदेख, समन्वय, नियन्त्रण, निर्देशन र व्यवस्थापनका लागि सरकारले १ जना व्यक्तिलाई अध्यक्ष तोकेको सञ्चालक समितिको गठन हुनेछ ।

उक्त समितिमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, कानुन, न्याया तथा संसदीय मामिला, गृह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सदस्य रहनेछन् ।

यसैगरी धार्मिक, सांस्कृतिक र सम्पदा संरक्षण क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुध्ये प्रत्येक विधाबाट सरकारले मनोनित गरेका १ जना महिलासहित ३ जना सदस्य रहनेछन् ।

धर्म, संस्कृति र परम्परासम्बन्धी विषयमा समितिलाई राय, सल्लाह, सुझाव तथा मठ सञ्चालन विषयमा परामर्श समेत दिन प्राधिकरणमा धार्मिक, सांस्कृतिक क्षेत्रमा कम्तिमा १५ वर्षको अनुभव भएको ख्यातिप्राप्त विद्धान, सनातन धर्मप्रति आस्था एवं विश्वास भई धार्मिकस्थल तथा मन्दिर प्रणालीको उत्थान र बिकासमा प्रतिवद्ध १ जना नेपाली नागरिक विद्धत सभाको अध्यक्ष चयन हुने ।

यस ऐनको अधिनमा प्रदेशभित्र रहेका गुठी तथा धार्मिक स्थलको रेखदेख, संरक्षण, व्यवस्थापन, सहकार्य र समन्वय गर्न प्रदेश कानुनबमोजिम प्रदेश गुठी व्यवस्थापन समिति गठन हुनेछ । उक्त समिति बढीमा ११ जना सदस्य रहने गरी धार्मिकस्थल व्यवस्थापन समिति गठन गर्न सकिने विधेयकमा उल्लेख छ ।

मादक पदार्थ वा लागु पदार्थको दुव्र्यसनी भएको, ३० वर्ष पूरा नभएको, सनातन धर्म परम्परामा नरहेको, गैर नेपाली नागरिक भएकोसहित अरु धेरै व्यवस्थामा कुनै व्यक्ति धार्मिकस्थल व्यवस्थापन समितिको सदस्य हुन सक्ने छैन ।