स्थानीय निकायमा एकै प्रकारका शौचालय

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं । काठमाडौं र ललितपुर महानगरपालिका तथा कीर्तिपुर नगरपलिकाले सार्वजनिक शौचालय निर्माण, सञ्चालन र व्यवस्थापन मार्गदर्शन २०७५ जारी गरेको छ ।

सो मार्गदर्शनमा अब राजधानीमा सञ्चालन हुने शौचालयमा महिनावारी हुदा प्रयोग गरेको प्याड फेर्ने र प्याड फाल्ने भाडाको अनिवार्य व्यवस्था हुनुपर्ने व्यवस्था उल्लेख छ । १२ बँुदे सुविधामा सो व्यवस्था गरिएको हो । काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा महानगरका प्रवक्ता एवं १५ वडा अध्यक्ष ईश्वरमान डंगोल र १८ वडा अध्यक्ष न्युच्छेकाजी महर्जन सदस्य रहेको समितिले जारी गरेको मार्गनिर्देशनमा सो विषय उल्लेख गरिएको छ ।

संविधानले स्थानीय तहलाई सुम्पिएको संवैधानिक कर्तव्य पालना गर्दै स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको संवैधानिक हकको प्रत्याभूतिका लागि तथा स्थानीय तहले आफ्ना नागरिकप्रतिको जिम्मेवारी पूरा गर्ने क्रममा महिला, बालबालिका, जेष्ठ नागरिक तथा विभिन्न खालको अपाङ्गता भएका मानिसहरुले समेत सजिलै प्रयोग गर्न सक्ने सुविधायुक्त एवं पहुँचयुक्त, सफा एवं वातावरणमैत्री सार्वजनिक शौचालयको निर्माण, सञ्चालन र दिगो व्यवस्थापन गर्न सार्वजनिक शौचालय निर्माण, सञ्चालन र व्यवस्थापन मार्गदर्शन २०७५ जारी गरेको हो ।

कामपाले ललितपुर महानगरपालिका र कीर्तिपुर नगरपालिकाका उपमेयरसँग छलफल गरी एकीकृत शौचालय निर्माण गर्ने विषयमा समेत निर्णय गरेको छ ।
तीनैवटा स्थानीय निकायमा एकै प्रकारका शौचालय निर्माण गर्ने गरी मार्गनिर्देशन तयार गरेको हो । उपमेयर खड्गीले भन्नुभयो– ‘हामीले मार्गनिर्देशन प्रतिवेदन बुझाइसकेका छौ, सोही अनुसार उपत्ययकामा शौचालय निर्माण हुनेछन् ।’

समितिले शौचालयको वर्गिकरण, अनुगमन र नियमन, निर्माण र व्यवस्थापन, प्रविधि उपयोग सुविधा र प्रोत्साहन, सेवा शुल्क निर्धारण लगायतका एक दर्जन विषय समावेश गरिएको छ ।

मार्ग निर्देशनमा सुविधा सम्पन्न शौचालयमा सफा पानी, साबुन ऐना, कपडा र झोला झुण्ड्याउने हुक, विजुली बत्ती तथा प्रकाश व्यवस्था र क्रस भ्यान्टिलेशन, शौचालय जान आउन प्रयोग हुने सजिलो बाटो, शौचालयभित्र ह्वील चेयर घुम्न मिल्ने ठाउँ तथा अन्य प्रयोगकर्तामैत्री सुविधा, इलेक्टिक ह्यान्ड ड्रायर, उठ्न र बस्न सजिलो हुने खालको व्यवस्था, सजिलो ढोका तथा चुकुल, आपत् पर्दा बजाउन मिल्ने घण्टी र सोको स्वीच, बुझिने खालको सङ्केत चिह्न तोकिएको, म्यानुअलमा तोकिएबमोजिमको नियमित सरसफाई र उचित सुरक्षा प्रबन्ध हुनुपर्ने उल्लेख गरिएको छ ।

-शौचालय सामान्य, आधुनिक र स्वचालित हुने
-स्नानकक्ष, सैलुन, ब्युटी पार्लर, चमेना गृह, बिक्री कक्ष राख्न मिल्ने

त्यस्तै शौचालय सञ्चालक र व्यवस्थापकले शौचालयमा स्नानकक्ष, सैलुन, व्युटी पार्लर, चमेना गृह, बिक्री कक्ष, छोटो समयका लागि लगेज र व्यागेज राख्ने सशुल्क सुविधा, स्वचालित प्रणाली, स्यानिटरी प्याडको उपलब्धता तथा प्याड डिस्पोजल सुविधा, बच्चा राख्ने, कपडा फेर्ने तथा स्तनपान गराउने कक्षको समेत व्यवस्था गर्न सक्ने उल्लेख गरेको छ ।

समितिले कामपा कार्यपालिका प्रमुख एवं कामपा मेयरलाई प्रतिवेदन बुझाएलगत्तै महानगर क्षेत्रमा आवश्यक पर्ने शौचालयको संख्या निर्धारण र व्यवस्थापन गर्न सार्वजनिक निजी साझेदारी ईकाई प्रमुख ध्रुव काफ्लेको संयोजकत्वमा समिति गठन गरेको थियो ।

समितिले २ सय ८४ स्थानमा शौचालय निर्माण गर्न उपमेयरको संयोजकत्वमा गठित समितिलाई बुझाएको थियो । सो समितिले अध्ययन गरी तत्काल १ सय २७ स्थानमा शौचालय बनाउने निर्णय गरेको थियो । लगत्तै कामपाले एक समिति गठन गरी शौचालय निर्माण गर्ने प्रकृया अघि बढाएको समितिका संयोजक एवं उपमेयर खड्गीले बताउनुभयो ।

समितिले बनावटको आधारमा सानो, मझौला र ठुलो र सुविधाको आधारमा सामान्य आधुनिक र स्वचालित वा इट्वाइलेट बनाउने मार्गनिर्देशन तयारी गरेको छ । आफ्नै स्रोत, साधन र क्षमताको प्रयोग गरी आफैले सञ्चालन र व्यवस्थापन गर्ने, व्यवस्थापन करारमार्फत कुनै संस्था वा कम्पनीलाई दिने, निर्माण सञ्चालन र हस्तान्तरण गर्ने र प्रचलित कानुनबमोजिम नगरपालिकालाई उपयुक्त लागेको विधि प्रयोग गरी शौचालय सञ्चालन गर्ने अधिकार दिने उल्लेख छ ।

ती शौचालयमा धुम्रपान क्षेत्र तोक्नुपर्ने छ । तोकिएको क्षेत्र बाहेक शौचालय परिसरको अन्य कुनै क्षेत्रमा धुम्रपान र सुर्तिजन्य पदार्थ सेवन गर्न नहुने, यदी निषेधित क्षेत्रमा धुप्रमान वा सुर्तिजन्य पदार्थ सेवन गरे संचालक वा व्यवस्थापकले प्रतिपटक एक हजार रुपियाँसम्म जरिवाना लिन सक्ने व्यवस्था गरेको छ ।

सानो शौचालयमा महिला र पुरुषको लागि छुट्टाछुट्टै शौचस्थल हुनुपर्ने, मझौलामा महिला र पुरुषको लागि कम्तिमा ३–३ वटा र ठुलोमा ५–५ वटा शौचस्थलको व्यवस्था हुनुपर्ने मार्गनिर्देशनमा उल्लेख छ ।

सुविधाको आधारमा संचालित शौचालयमा न्युनतम मापदण्ड हुनुपर्ने, आधुनिक शौचालयमा न्युनतम सुविधा भएको, स्नानकक्ष, ब्युटी पार्लर, स्यानिटरी प्याड उपलब्ध हुने तथा डिस्पोज गर्न मिल्ने, स्वचालित शौचालयमा सबै न्युनतम तथा थप सुविधा भएको हुनुपर्ने व्यवस्था छ ।

बनावटका आधारमा संचालित सानो शौचालयमा सानोमा २, मझौलामा ४ र ठुलोमा २ कर्मचारी र सुविधाको आधारमा संचालित शौचालयमा सामान्यमा २, आधुनिक र स्वचालितमा ४–४ जना कर्मचारी व्यवस्था गर्नुुपर्नेछ । शौचालयमा अनिवार्य रुपमा सफाइ कर्मचारी, सुपरभाइजर, लेखापाल र क्यासियर, प्राविधिक सिष्टम अपरेटर र माली परिचारक र हेरालुको व्यवस्था गर्नुपर्ने मार्गनिर्देशनमा उल्लेख छ ।

समितिका संयोजक एवं उपमेयर श्रेष्ठले मार्गनिर्देशनको आधारमा कामपाले चाडै शौचालय निर्माण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘मार्गनिर्देशन तयार गरी नगरकार्यपालिकामा बुझाइसकेका छौं, अब सोही आधारमा दुई महानगर र किर्र्तिपुर नगरपालिकामा नयाँ शौचालय निर्माण हुनेछन् ।’