मिडिया काउन्सिल विधेयकविरुद्ध ज्ञापन


हेटौंडा,(नेस) ।
नेपाल प्रेस युनियन मकवानपुरले जिल्ला प्रशासन कार्यालयमार्फत् सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ज्ञापनपत्र बुझाएको छ ।

मिडियालाई नियन्त्रण गर्ने सरकारी रवैयाको विरोधमा युनियन केन्द्रीय समितिको तर्फबाट संघीय संसद्का सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ज्ञापनपत्र बुझाउने कार्यक्रमअनुसार मकवानपुरमा पनि बुझाइएको हो ।

प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी (पोष्टराज) ले मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मामार्फत् सभामुख र अध्यक्षलाई ज्ञापनपत्र बुझाउनुभएको हो ।
मिडियालाई नियन्त्रण गर्ने नियत राखी सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र संसद्मा ल्याउने तयारी गरिएको आमसञ्चार लगायत विधेयकविरुद्ध ज्ञापनपत्र बुझाइएको हो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध गर्न खोजिएकोे कामको विरोधमा युनियनले देशव्यापी आन्दोलनका कार्यक्रमअनुसार ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्रमा संसद्मा पेश भएको मिडिया काउन्सिल गठनसम्बन्धि विधेयक र दर्ता हुन लागेको आमसञ्चार सम्बन्धि विधेयकले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने र सञ्चारक्षेत्रलाई सरकारको भजनमण्डली बनाउने भन्दै ध्यानाकर्षण भएको जनाइएको छ ।

कार्यक्रममा युनियन मध्यमाञ्चल संयोजक राममणि दाहाल, नेपाल पत्रकार महासंघ अध्यक्ष हरि हुमागार्इं, युनियन सचिव केशव समर्पण, महासंघ र युनियन पदाधिकारीसहित सञ्चारकर्मीको सहभागिता थियो । मिडियालाई नियन्त्रण गर्न खोजिएको भन्दै नेपाल पत्रकार महासंघ पनि देशव्यापी आन्दोलनमा छ ।