गौमुत्रबाट औषधि


सलिम अन्सारी,प्युठान
प्यूठानको स्वर्गद्वारी आश्रमले गाईबाट संकलित मुत्र प्रशोधन गर्न थालेको छ । आश्रमले झन्डै डेढ महिना अघिदेखि संकलित गाईको पिसावलाई प्रशोधन गरि औषधिको रूपमा बिक्री गर्न सुरु गरेको हो।

आश्रमका पुजारी बाबुराम न्यौपानेले झन्डै डेढ महिना देखि गौअर्घ्यका रुपमा प्रशोधित गाईको मुत्र बिक्री गर्न सुरु गरिएको बताउनुभयो।’आश्रमले प्रशोधन गरेको गहुंत स्वर्गद्धारी दर्शन गर्न आउने भक्तजनहरुले किनेर लैजानुहुन्छ।’ उहाले भन्नुभयो,’ यस्ले विभिन्न रोगहरु निको पार्न सक्छ।’ सुरुवाती चरण भएकाले यस्को बिक्रीदर पनि बढ्दै गएको उहाले बताउनुभयो। आश्रमका ३ सय ५० गाईबाट दैनिक ४० लिटर बढी मुत्र संकलन हुँदै आएको छ। ८० लिटर गाई मुत्रलाई उमालेर बाफ निकाल्दै पुरै प्रशोधित गर्दा ४० लिटर गौअर्घ्य उत्पादन हुने गरेको छ ।

गौअर्घको मूल्य प्रतिलिटर १ सय ५० रुपैयाँ तोकिएको छ । गहुँत दस दिन राखे जति पछि प्रशोधन प्रक्रिया सुरु गरिने न्यौपानेले बताउनुभयो ।गहुँत प्रशोधनका लागि भारतबाट मेसिन ल्याइएको छ। एकै स्थानमा खन्याइएको गहुँतलाई वाष्पीकरण गरि तरल झर्ने गरि मेसिन जोडिएको छ। गौअर्घ्य बनाउँदा हर्रोबर्रो र अमला लगायतका जडिबुटीहरु पनि मिसाउने गरिएको छ। संकलित मुत्रलाई प्रशोधन गरी ग्यास्ट्रिक, अल्सर तथा पेटक समस्यामा औषधीको रुपमा प्रयोग गर्न सकिन्छ। गाईको हेरचाहका लागि करिब ३५ जना खटिएका छन्। यस्मा धेरैजसो महिला छन्। दिउँसो चराउनको लागि तीन जना पुरुष खटिन्छन।

गाई हेरचाहका लागि मासिक पारिश्रमिक सहित कामदारहरुलाई खाने बस्ने व्यवस्था पनि मन्दिर व्यवस्थापन समितिले गरेको छ।स्वर्गद्धारीमा स्थानीय गाईहरू मात्रै पालन गरिने समितीले बताएको हो । गाईहरुको लागि घाँसको समस्या छ । गाईका लागि दैनिक ६ क्विन्टल दाना खर्च चाहिन्छ। दाताहरु तथा दर्शनार्थीहरुको सहयोगले गाईपालन धानिएको छ। उत्पादित गाईको दूध मन्दिरको पुजाको लागि खर्चिने गरिएको छ। साथै, ध्यु आवश्यक पर्ने हुनाले दूध मन्दिरमै खपत हुने गरेको छ।

आश्रममा एक सय घनमिटरको गोबर ग्यास प्लाण्ट भएपनि चिसोका कारण पुरै क्षमतामा संञ्चालन हुन भने सकेको छैन।गाईहरुलाई पानी कुडो खुवाउन सजिलो होस् भनेर बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले आश्रममा सोलार पनि राखिदिएको छ ।

स्वर्गद्धारी आश्रमको स्थापना १९५२ मा बालतपस्वी महाप्रभुबाट भएको जनविश्वास छ । त्यही बेला देखि नै यहांअखण्ड यज्ञ चल्दै आएको छ ।

प्राचीन समयमा प्यूठानको स्वर्गद्धारी क्षेत्र यज्ञभूमिको रुपमा चिनिन्थ्यो । वेदव्यास जस्ता त्रिकालदर्शी महर्षिहरुले यही ठाउँमा यज्ञ गरेको तथा महाभारतका पाँचपाण्डवले तपस्या गरेर स्वर्ग प्रस्थान गरेको जनश्रुति पनि रहँदै आएको छ ।