एउटै वडामा १६३ को बालविवाह

0
Shares

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १६३ बालविवाह भएको एक संस्थाको तथ्याङ्कले देखाएको छ । जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास केन्द्र (सिडिसी) नामक एक संस्थाले तीन वर्षदेखि गरेको सर्वेक्षणअनुसार यति ठूलो सङ्ख्यामा बालविवाह भएको पाइएको हो ।

उक्त संस्थाले सार्वजनिक गरेको तथ्याङ्कमा विसं २०७३ मा ३८, २०७४ मा ५६ र २०७५ मा ६९ को बालविवाह भएको छ । त्यस्तै विसं २०७३ वैशाखदेखि २०७५ चैत मसान्तसम्म १३३ बालिका र २७ बालकको बालविवाह भएको सामुदायिक विकास परियोजना जिल्ला संयोजक एकराज बडूले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘विवाह गर्ने १४ देखि १९ वर्षका धेरै छन्, केहीले लहैलहैमा लागेर त केहीले पुण्य कमाउने नाममा बालविवाह गरेको देखिन्छ ।’

बालविवाह समाज, क्षेत्र वा जाति विशेषभन्दा पनि सबैमा समान रहेको पाइएको छ । यसरी पुण्यका नाममा बालविवाह गर्नेमा जनजाति पाँच, दलित ६०, क्षेत्री समुदायमा ९८ रहेको उक्त संस्थाले गरेको अनुसन्धानमा देखिएको छ । मुख्यतया बालविवाह परिवारको दवाब, मोबाइल तथा इन्टरनेटको प्रयोग, लहैलहैमा, गरीबी, राम्रो घर परिवार पाउँदा, चाँडो विवाह गर्ने मान्यता, मेला पर्वमा, भविष्य राम्रो हुने आशामा हुने गरेको छ ।

उक्त वडामा हालसम्म परिवारको दवाबले ३१, मोबाइल तथा इन्टरनेटको प्रयोगले ३३, गरीबीले एक, राम्रो घर परिवार पाउँदा सात, चाँडो विवाह गर्ने मान्यतामा पाँच, मेला पर्वमा एक, भविष्य राम्रो हुने आशामा एक र अन्य ८० गरी जम्मा १६३ को विवाह भएको पाइएको जिल्ला संयोजक बडूले बताउनुभयो ।