गिट्ठाले छाक टार्न बाध्य चिया मजदुर

0
Shares

काठमाडाैं । नेपालका चिया बगान तथा उद्योग बन्द भएका कारण मजदुरहरूको बिचल्ली भएको छ । छ हप्तादेखि बगान तथा उद्योग बन्द हुँदा उनीहरूको गाँस रोकिएको छ । दाल भात पाक्ने चुल्होमा जंगलको गिट्ठा पाक्न थालेको छ ।

मजदुरहरू आफैँले विभिन्न माग राखी बगान र उद्योग बन्द गराएका हुन् । त्यसैको बहानामा व्यवस्थापनले ४३ दिनदेखि पैसा नदिएपछि उनीहरू भोकभोकै बस्न बाध्य भएका हुन् । कतिपयले बिरामी परेको अवस्थामा औषधिसमेत गर्न पाएका छैनन् । पैसा नभएका कारण सामान्य बिरामी हुँदा पनि औषधि किन्न सक्ने अवस्था आफ्नो नरहेको उनीहरू पीडा पोख्छन् ।

गत चैत १७ गतेदेखि नेपाल सरकारले तोकेको दैनिक ज्याला पाउनुपर्ने माग गर्दै चिया बगानमा काम गर्ने मजदुर आन्दोलित भएका हुन् । दैनिक ज्याला ३ सय ८५ रुपैयाँ पाउनुपर्ने माग गर्दै उनीहरूले बगान र कारखाना बन्द गरेका छन् । तर, अहिले न तोकिएको ज्याला पाएका छन् न पहिलेको ।

सम्झना उराऊ बाल्यकालदेखि नै झापाको भद्रपुरमा रहेको बुधकरण चिया बगानमा मजदुरको रूपमा काम गर्दै आएकी छन् । उनको बाल्यकाल पनि बगानभित्रै बित्यो । उनका पति पनि बगानकै मजदुर हुन् । उनीहरू दुई जनाको कमाइले चार जना छोरीको समेत खर्च टार्नुपर्छ उनीहरूलाई ।

तर, चिया बगान तथा उद्योग बन्द भएको ४३ दिन बित्दा पनि उनीहरूको माग सम्बोधन हुन सकेको छैन । यत्रो दिनसम्म न त उनीहरूले साविकको ज्याला पाएका छन् न बढेको ज्याला नै । आन्दोलन गरेर माग पूरा होला भन्ने आसमा रहेका उनीहरूको गास नै बन्द भएको छ । आन्दोलन प्रति न व्यवस्थापनको चासो छ न सरकारले सरोकार देखाएको छ ।

चिया बगानमा काम गर्ने मजदुरले बगान तथा उद्योग बन्द भएयता राम्ररी भात खान नपाएको गुनासो गरेका छन् । परिवारमा कोही बिरामी पर्दा औषधि पनि किन्न नसकेको उनीहरू बताउँछन् । सम्झना उराऊ छेवैमा रहेको गिट्ठा देखाउँदै भन्छिन्, ‘यी यहाँ हेर्नोस जङ्गलबाट खोजेर ल्याएका गिट्ठा । यही उसिनेर खाँदैछौँ ।’ खानाको कुनै विकल्प नहुँदा उनीहरू गिट्ठा जस्ता जंगली कन्दमूलको सहरामा पुगेका हुन् ।

चामलको भात खान नपाएको झन्डै एक महिना भएको सुनाउँदै उनी भन्छिन्, ‘उधारो कति खाऊँ ? त्यो पनि एक दिन नतिरी हुँदैन । कमाइ छैन भने कहाँबाट ल्याएर पैसा तिर्नू ?’ प्रश्न गर्दै भन्छिन् उनी । उनको प्रश्नात्मक भनाइ आक्रोस र पीडा मिसिएको छ । आखिर अन्न बिना मान्छेको शरीर कति दिन चल्न सक्छ ?

अर्की मजदुर प्रिया मुन्डाका अनुसार नजिकै जङ्गलबाट गिट्ठा खोजेर ल्याएर आलु जस्तै पकाएर खाने गरिएको छ । उनी भन्छिन्, ‘भात तरकारी किनेर खाने अवस्था छैन । जङ्गलमा गिट्ठा छ, त्यही ल्याएर खान्छौँ ।’ उनीहरूको जस्तै पीडा सबै जसो चिया मजदुरको छ ।

तीन हप्ताभन्दा बढी समयदेखि एक पैसा हात नपारेका चिया मजदुरहरू छोराछोरीको पढाइ खर्च जुटाउन पनि त्यतिकै मुस्कल भएको बताउँछन् । सम्झना उराऊ उधारोमा सन्तानलाई शैक्षिक सामग्री लिनुपर्ने बाध्यता देखाउँछिन् । उनीहरूको दैनिकी चलाउने आधार भनेकै त्यही चिया बगान र कारखाना थियो । त्यही बन्द भएपछि चौपट भएको उनीहरूको दैनिकी ।

सम्झना भन्छिन्, ‘एउटी छोरीको किताब किन्न मात्र तीन हजार रुपैयाँभन्दा बढी लाग्छ । हातमा पैसा छैन, पसलेले उधारोमा दिएन भने रित्तो हात फर्कनुपर्ने अवस्था छ ।’ मलिन हुँदै उनले भनिन् ।

प्रिया मुन्डाले पनि आफ्ना बच्चाको पढाइका लागि किताब तथा कपीको जोहो गर्न नसकेको बताउँछिन् । भन्छिन्, ‘खानेकुरा त जङ्गलबाट ल्याएर खानुपरेको छ । किताबकपी किन्नु त परैको कुरा ।’ उनीहरूका लागि अहिले मुख जोर्ने र बच्चाको किताब कापी जोहो गर्ने तनाव छ ।

अहिले मात्रै होइन, चिया उद्योग हडलात भएको । पहिला पनि बेला बेला हडताल हुन्थ्यो । तर, अहिलेको जस्तो अवस्था नदेखेको नभोगेको मजदुरहरू बताउँछन् । बाल्यकालदेखि नै आफू चियाका बुटावरपर रहेको बताउने अर्की मजदुर अञ्जली बनियाँले अहिलेको जस्तो अवस्था पहिला आफूले नभोगेको बताइन् ।

उनले भनिन्, ‘पहिला पनि हडताल भए । तर, केही दिन मै सहमति हुन्थ्यो । यो पालि यत्रो दिनसम्म यस्तो भोकै रहनु परेको जस्तो अवस्था कहिले पनि भोगेनौँ ।’ आन्दोलन लम्बिँदै जाँदा मजदुरका समस्यका पनि तन्किँदै गएका छन् । जसका कारण अहिले उनीहरू निकास के र कसरी होला भन्ने चिन्तामा छन् ।

अर्का मजदुर जितलाल हेमरमका अनुसार ज्याला मजदुरीकै विषयमा पहिला पनि हडताल भए पनि केही दिनमै समाधान भएकाले अहिले मजदुरले भोगेको अवस्थाजस्तो त्यो बेला थिएन । चिया मजदुरलाई यो हालतमा ल्याइर्पुयाउने मुख्य जिम्मेवार सरकार र उद्योगीहरू भएको मजदुरहरूको आरोप छ ।

बुधकरण चिया बगानमा काम गर्ने मजदुर राजकुमार तामाङले नियम बनाउने सरकार र कार्यान्वयन नगर्ने चिया उद्योगी यो अवस्थाको जिम्मेवार रहेको बताए । उनले भने, ‘मजदुरले कानुनी उपचार खोजेको हो । कानुनले दिएको हक खोजेको हो । त्यसलाई कार्यान्वय गराउन सरकारले किन सक्दैन ?’

उनी जस्तै अर्का मजदुर कंग्रेस बनियाँले जसरी पनि आफूहरूले पाउनुपर्ने बढेको ज्याला गत साउन महिनादेखि पाउनैपर्ने बताए । निर्णय भए पछि त्यसको कार्यान्वयन गराउने जिम्मा सरकारको भएकोले सरकार मौन बस्न नपाउने उनीहरूको भनाइ छ ।

सरकारले चिया श्रमिकको दैनिक ज्याला ३ सय ८५ रुपैयाँ र अतिरिक्त समयका लागि प्रतिघण्टा ५१ रुपैयाँ तोकेको छ । तर, श्रमिकले अहिले दिनको २ सय ७८ रुपियाँ मात्र पाइरहेका छन् । बढेको ज्याला गत साउन महिनादेखि पाउनुपर्ने मजदुरहरू बताउँछन् । कारखानामा काम गर्ने श्रमिकलाई न्यूनतम ज्यालामा दैनिक थप ४२ रुपैयाँ तोकिएको छ । त्यो पनि कार्यान्वयन भएको छैन ।

उद्योगीहरूका अनुसार श्रम ऐन २०७४ ले सबै क्षेत्रका मजदुरलाई एक रूपले हेरेपछि चिया क्षेत्रमा समस्या देखिएको हो । चिया क्षेत्रलाई सबै क्षेत्रसँग मिलाइएकाले यो अवैज्ञानिक भएको उनीहरूको दाबी छ । उनीहरूको भनाइमा सरकारको उक्त निर्णय अवैज्ञानीक छ । त्यसो भए समस्याको समाधान निकाल्ने कस्ले ? निर्णय गर्ने सरकार कार्यान्वयन नगर्ने उद्योगी दुवै मौन बस्दा मजदुरको चुलो बल्न छोडेको छ ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलका अनुसार चिया उद्योगीमाथि एक्कासि थेग्नै नसक्नेगरी आर्थिक भार पर्ने किसिमको ऐन आएपछि चिया क्षेत्र धराशायी बन्ने स्थिति छ । उनले भने, ‘भारतमा भन्दा धेरै सुविधा मजदुरलाई हामीले दिनु परेपछि हामीले हात उठाउन बाहेक अर्को विकल्प छैन ।’ उनले मजदुरका माग पूरा गर्न नसकिने भन्दै जवाफ दिए ।

यता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार चिया उद्योगीहरूले मजदुरलाई ऐनले तोकेको ज्याला दिनैपर्ने बताउँदै आएको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालका अनुसार मजदुरलाई दिइने ज्यालाका कारण चिया उद्योगमा संकट आए त्यसलाई सम्बोधन गर्न सरकार तयार छ । तर, मजदुरलाई सरकारले तोकेको ज्याला उपलब्ध गराउनु नै पर्ने सचिव दाहालले बताए ।

उनले भने, ‘हामी धेरै पटक वार्तामा बस्यौँ । मजदुरलाई सरकारले तोकेको ज्याला तपाईँहरू दिनुहोस् अनि बाँकी कुरा गरौँला भन्यौँ । तर, उहाँहरूले मान्नुभएको छैन । मजदुरलाई ज्याला उपलब्ध गराउने विषयमा कतै कन्जुस्याइँ हुनुहुँदैन ।’ सरकारी पक्ष र उद्योगीको बीचमा रहेको दुई धारको धारणाको चेपुवामा परेका छन् मजदुर ।

नेपालमा वार्षिक झन्डै दुई करोड ५० लाख केजी तयारी चिया उत्पादन हुने गरेको तथ्यांक राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँग छ । नेपालका चिया बगानमा झन्डै ६० हजार मजदुर कार्यरत रहेको मजदुरका संगठनहरूले बताउँदै आएका छन् ।

तर, मजदुरका समस्या दीर्घकालीन रूपमा समाधान भने हुन सकेका छैनन् । मजदुरले आन्दोलन गर्दै जाने, सरकार निर्णय गर्ने कार्यान्वयनका बारेमा वास्ता नगर्ने प्रवृद्धिने पनि समस्या समस्याकै रूपमा रहिरहेका छन् । (बिबिसी)