निशुल्क स्वास्थ्य शिविरमा करिव ६ सयको स्वास्थ्य जाँच


धनवीर दाहाल, रुकुम पुर्व ।
रुकुम पुर्वको दुर्गम गाँउमा संचालन भएको निशुल्क स्वास्थ्य शिविरमा ६२७ जनाको स्वास्थ्य जाँच भएको छ । दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउने उद्धेश्यले संचालन भएको शिविरमा १ जनाको सामान्य सल्लेक्रिया,१० जना सुत्केरीको जाँच,४० जनाको भिआइएस बिधिद्धारा क्यान्सर जाँच गरिएको शिविरमा सेवा दिनुभएका डाक्टर नबिन बुढाथोकीले जानकारी दिनुभयो ।

पुथाउत्तरगंगा गाउँपालिका –८ रिबाङ्गचौरमा रहेको स्वास्थ्यचौकी जाङमा आइतबार र शोमबार निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमको आर्थिक सहयोग, पुथाउत्तरगंगा गाउँपालिकाको आयोजना र रुकुमेली सामुदायिक अस्पत्तालको प्राविधिक सहयोगमा दुईदिने स्वास्थ्य शिविर संचालन भएको हो । निशुल्क स्वास्थ्य शिविरमा अत्याधुनिक सेवा सुविधा सहित अनुभवी विशेषज्ञले स्वास्थ्य चेकजाँच गरेका छन् ।

शिविरमा विशेष गरेर स्त्रीरोग सम्बन्धी महिलाको तल्लो पेट, ढाड कम्मर दुख्ने, सेतोपानी बग्ने, गर्भवती महिलाको स्वास्थ्य चेकजाँच संगै भिडियो एक्सरे, इ.सी.जी, प्रयोगशाला, नाक, कान, घाँटी लगायतको उपचार गरिएको सामुदायिक अस्पतालका व्यवस्थापक हरिबोल भारतीले बताउनुभयो ।

सो निशुल्क स्वास्थ्य शिविरमा पुथाउत्तरगंगा गाउँपालिकाको वडानम्बर ७, ८, ९ र सिस्ने गाउँपालिकाको वडानम्बर १ र २ का नागरिक स्वास्थ्य चेकजाँच गर्न शिविरमा आएका छन् । स्वास्थ्य शिविरमा निशुल्क औषधीको समेत व्यवस्था गरिएको छ ।

ग्रामिण भेगमा बसोबास गर्ने नागरिकको शिक्षा, स्वास्थ्य र आयआर्जनलाई लक्षित गरेर स्वास्थ्य शिविर सञ्चालन गरिएको ग्रामिण मुख्यमन्त्री कार्यक्रम रुकुम पूर्वका जिल्ला अधिकृत लिलामणि गौतमले बताउनुभयो । बिकट ठाँउमा स्वास्थ्य सेवा दिनका लागी अझै पनि भुमे गाँउपालिका र सिस्ने गाँउपालिकामा पनि सो कार्यक्रम गरिने गौतमले जानकारी दिनुभयो ।