डढेलोले वन सखाप


सलिम अन्सारी,प्युठान ।
प्युठानमा बैसाखको पहिलो साताबाट सुरु भएको डढेलोले यहाँका वनमा क्षति र्पुयाएको छ। जिल्ला वनका निमित्त कार्यालय प्रमुख दिपक केसीले यस वर्ष डढेलोका कारण हालसम्म प्युठानमा ३ हजार ८ सय ५१ हेक्टर भन्दा बढी वन क्षेत्रमा क्षति पुगेको बताउनुभयो।

जिल्लामा ७८ हजार ४९ हेक्टर वन क्षेत्र रहेको छ। वन कार्यालय प्युठानका अनुसार यस वर्ष चुरे लगायतका ठूला र घना वनजंगल तथा दर्जनौं सामुदायिक वनमा डढेलो लागेको हो। लामो समय सम्म पानी नपर्दा बनक्षेत्रमा रहेका झाडी रुखका सुकेका पातमा आगो सल्किदा बढी डढेलोको प्रकोप खेप्नुपरेको केसीले बताउनुभयो।

’ठूला र घना वनमा डढेलो लागेको छ’निमित्त बन प्रमुख केसीले भन्नुभयो,’डढेलोका कारण वन्यजन्तु तथा पंक्षीको बासस्थान नष्ट भएका छन्। अमूल्य जडिबुटी पनि खरानी भए,’ उहाले भन्नुभयो। जिल्लाको धेरैजसो बन क्षेत्रमा डढेलो लागेको छ । प्युठान भालुवाङ सडकखण्डका वनमा लहरै डढेलो लागेको देखिन्छ।

डढेलोले सानाठूला सबै रुख जलेर नष्ट हुनुका साथै हरिया डाँडा पूरै काला देखिन्छन्।डढेलो नियन्त्रण गर्न वन उपभोक्ता समितिहरू र सुरक्षाकर्मीहरु सक्रिय भएर लागेको जिल्ला बनको भनाई छ । तर नियन्त्रण कार्य भने प्रभावकारी बन्न सकेको छैन।बर्से्नि वनमा आगो लाग्छ, करोडौंका क्षति गरेर आफैं निभ्छ।

डढेलो नियन्त्रणका लागि सरकारले वन कार्यालयमा ३ लाख बजेट पठाएको छ। तर, बजेट भने डढेलो नियन्त्रणभन्दा पनि अन्य शीर्षकमा नै बढी खर्च हुँदै आएको सरोकारवाला बताउँछन्। केही वर्षयता डढेलो नियन्त्रण शीर्षकमा गोष्ठी, छलफल र तालिम गरेरै बजेट सकिने गरेको छ । केसि ले दिनहुँ डढेलो निभाउन कर्मचारी सक्रिय रहेको दाबी गर्नुभयो ।

तर, वन कार्यालय तथा राजमार्गछेउछाउ नै व्यापक रूपमा डढेलो लागेर वन सखाप भइसकेको छ।‘सुरक्षाकर्मी , वन उपोभोक्ता समितीले आगो निभाउने काम गरिरहेका छन्।उहाले भन्नुभयो। ’वनमा आगो लगाउने एक जनालाई पनि वन कर्मचारीले नियन्त्रणमा लिन सकेका छैनन्।

आगजनी गर्नेलाई पक्राउ गरी कारबाही गर्न सक्ने अधिकार भए पनि वन कर्मचारी यसमा चुकेको स्थानीय बताउँछन्। सामुदायिक वनमा डढेलो लाग्न नदिन सचेतनामुलक कार्यक्रम गर्दै आएको र बन उपभोक्ता समितीहरूले आगो निभाउँदै आएको सामुदायिक वन उपभोक्ता महासंघ प्युठानका अध्यक्ष दामोदर शर्माले बताउनुभयो।’भौगोलिक विकटता,उपकरण र बजेट अभावले अग्नि नियन्त्रणमा चुनौती थपिएको उहाको भनाई छ।