रुकुम पश्चिममा जीप दुर्घटना, वडा अध्यक्षसहित ८ जना घाइते

0
Shares

रुकुम। रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित आठ जना घाइते भएका छन् ।

आठविसकोट नगरपालिका–८ दाजेबाट वडा नम्बर–९ राडी बजारतर्फ आउँदै गरेको ग १ ज ६०४० नम्बरको जीप वडा नम्बर ७ को साउने खोला नजिकै आइतबार बेलुका दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय आठविसकोटका इन्चार्ज कर्ण बहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

दुर्घटनामा परी घाइते हुनेमा आठविसकोट नगरपालिका–८ का २८ वर्षका भुपेन्द्र बोहोरा, त्यही ठाउँका ४० वर्षका प्रजित बुढा, २१ वर्षका दिपक बोहोरा छन् । त्यस्तै वडा नम्बर ८ कै ४० वर्षका भिमबहादुर आरसी, २८ वर्षका खिमराज बुडा रहेको प्रहरीले जनाएको छ । यस्तै आठविसकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष नबराज बुढा, त्यही ठाउँका १७ वर्षका विशाल बोहोरा र २५ वर्षीय जीपका चालक हरिबहादुर बुढा घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइतेमध्ये खिमराज बुढा, भिमबहादुर आरसी र गाडी चालक हरिबहादुर बुढाको अबस्था गम्भीर रहेको छ । घाइते भएका आठै जनालाई आठविसकोट नगर अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज रिफर गरिएको छ ।

दुर्घटनाको कारण नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय आठविसकोटका इन्चार्ज विश्वकर्माले बताए । गाडी सडकबाट अनुमानित ५ सय मिटर तल खसेको प्रहरीको भनाई छ ।