इंग्लिश टोलीको रवाफिलो सिजन

0
Shares

लन्दन, (एजेन्सी)
लन्डन क्लब चेल्सी र आर्सेनल युरोपा लिग फुटबल उपाधिका लागि भिड्ने भएका छन् ।
बिहिबार राति भएको खेलमा जित निकाल्दै दुवै प्रिमियर लिग क्लब प्रतियोगिताको फाइनल प्रवेश गरेको हुन् । सेमिफाइनलको दोस्रो लेगको खेलमा चेल्सीले जर्मन क्लब इन्ट्रायच फ्रान्कफर्टलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाईनल यात्रा तय गरेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि विजेताको निर्णय पेनाल्टी सुटआउटमार्फत् गरिएको थियो । लोफटस चेकले २८ औ मिनेटमा घरेलु टोली चेल्सीलाई अग्रता दिलाएका भने ४९ औ मिनेटमा जोभिकले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । अन्तिममा चेल्सीले पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्यो । यसअघि पहिलो लेगको खेल समेत १–१ गोलको बराबरीमा सकिएको थियो ।

अर्को खेलमा आर्सेनलले स्पेनिस क्लब भ्यालेन्सियालाई दोस्रो लेगको खेलमा ४–२ ले हरायो । आर्सेनल समग्रमा ७–३ को नतिजा सहित फाईनल प्रवेश ग¥यो । आर्सेनलको जितमा पियरी एम्रिक अबुमियाङले ह्याट्रिक गरे । यस्तै लाकाजेट्टीले एक गोल थपेका थिए । भ्यालेन्सियाका केभिन गेमिरोले दुई गोल फर्काएका थिए ।

खेलमा अग्रता भने भ्यालेन्सियाले ११ औ मिनेटमा गेमिरोको गोलबाट लिएको थियो । अबुमियाङले खेलको १७ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । लाकाजेट्टीले ५९ औ मिनेटमा आर्सेनललाई अग्रता दिलाएका थिए । तर गेमिरोले ५८ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भए । तर ६९ औ मिनेटमा दोस्रो गोल र ८८ औ मिनेटमा ह्याट्रिक पुरा गर्दै अबुमियाङले आर्सेनललाई सहजै फाईनल यात्रा तय गराए ।

योसंगै यस सिजन २०१८–१९ मा युरोपका दुई ठूला क्लब फुटबल प्रतियोगितामा इंग्लिस क्लबको वर्चश्व कायम भएको छ । दुई ठुला प्रतियोगिता युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल खेल्ने चारै टोली एकै राष्ट्रको बनेको यो पहिलो अवसर हो । च्याम्पियनस लिगमा लिभरपुल र टोटेनह्याम तथा युरोपा लिगमा चेल्सी र आर्सेनलले फाइनलमा स्थान बनाएसँगै इंग्ल्यान्ड एकै वर्षमा दुई प्रतिष्ठित प्रतियोगिताको फाइनल खेल्ने पहिलो राष्ट्र बनेको हो ।

पछिल्लो समय इंग्लिस फुटबल चर्चित मानिने भएपनि टिमहरुले ठुला प्रतियोगिताका सम्मानजनक स्थितिमा पुग्न नसक्दा आलोचना खेपिरहेका थिए । तर, यो सिजन चार क्लबहरु लिभरपुल, टोटेनह्याम हट्सपर, चेल्सी र आर्सेनल फाइनलमा प्रवेश गरेसँगै इंग्लिस फुटबलले यूरोपमा आफ्नो अधिपत्य जमाएको सन्देश प्रवाह भएको छ ।

३५ वर्षअघि पहिलोपटक इंग्ल्यान्डका चार क्लब युरोपियन क्लब फुटबलको दुई ठुला प्रतियोगिता युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा प्रवेश गर्न सफल भएका थिए ।

च्याम्पियन्स लिगमा लिभरपुल र टोटेनह्याम हट्सपर तथा युरोपा लिगमा चेल्सी र आर्सेनल सेमिफाइनलमा प्रवेश गरेसँगै सन् १९८३÷८४ को सिजनपछि यो सम्भव भएको थियो । तर, यसपटक चारै इंग्लिस क्लब फाइनलमा पुग्न सफल भए । च्याम्पियन्स लिगको फाइनल १ जुनमा स्पेनको मेड्रिडमा तथा युरोपा लिगको फाइनल मे २९ मा अजरबैजानको बाकुमा हुदैछ ।