दुई लाख जनतालाई सेवा दिने अस्पतालको अवस्था दयनीय, औषधि अभावले बिरामीको बिचल्ली


हेमन्त पौडेल, बेलौरी ।
महाकाली अञ्चल अस्पतालपछिको ठूलो अस्पतालको रुपमा रहेकोश्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रको  अवस्था दयनीय बन्दै गएको छ । २०५३ सालमा स्थापना गरिएको प्राथमिक स्वास्थ्य केन्द्र श्रीपुर माहाकाली अञ्चल अस्पतालपछिको ठूलो स्वास्थ्य संस्थाको रुपमा भएपनि सेवा भने उपयुक्त नहुँदा उपचारमा समस्या हुँदै आएको छ ।

दुई गाउँपालिका,दुई नगरपालिका तथा भारतका तीन गाउँका करिब दुई लाख जनतालाई सेवा दिँदै आएको अस्पतालले औषधिको समस्या भोग्दै आएको छ ।

सामान्यदेखि सामान्यसम्मका औषधि समेत नहुँदा जनताको उपचारमा समस्या हुने गरेको प्राथमिका स्वास्थय केन्द्रका प्रमुख डा.कमलदीप जोशीले बताउनुभयो । यति ठूलो भूभागका लाखौ जनताको उपचार गर्ने अस्पताल संग सामान्य औषधी समेत छैन भनेर विरामी फिर्ता गर्नुपर्दा आफुलाई निकै दुःख लाग्ने गरेको डा. जोशीले बताउनुभयो ।

प्रयोग नुहुने औषधिको खात छ तर आवश्यक औषधि भने अभाव रहेको छ –उहाँले भन्नुभयो । स्वास्थ्य संस्थामा औषधि उपलब्ध गराउन पछिल्लो समयमा स्थानीय निकायलाई सरकारले जिम्मेवारी दिएको छ । जिम्मेवारी अनुसार बेलौरी नगरपालिकाले स्वास्थ्य केन्द्रलाई औषधि उपलब्ध गराएको छ तर आवश्यक औषधिको अभावमा उपचारमा समस्या भोग्नु परेको छ ।

गर्मीको समय संगै झाडा पखालाको प्रकोप बढ्ने खतरा देखिएको छ तर त्यसका लागि आवश्य सलाईनहरुको प्रयाप्तता नभएको अस्पतालले जनाएको छ । झाडापखालाले माहामारीको प्रकोप लियो भने औषधि नै छैन–डा. जोशीले भन्नुभयो ।

हाल स्वास्थ्ये संस्थामा दुखाई कम गर्ने ,सलाईन,टि टि इन्जेक्सन,विष खाएरपछि बान्ता गराउने चारकोल पाउडर ,छाला सम्बन्धि रोगीकालागि आवश्यक औषधि,गर्भवती महिलालाई दिने पोलिक एसीड (जस्ले बच्चाको बृद्धिमा सहयोग पु¥याउने दवाई )लगायतका अत्यावश्यक औषधि नभएको स्वास्थ्ये केन्द्रका स्टोर किपर लिलाराज ओलीले बताउनुभयो । उहाँका अनुसार हड्डीको दुखाई कम गर्ने औषधि तथा पेन्टप र एसीलक लगायतका औषधिको अभावले विरामीको उपचारमा समस्या भएको छ ।

प्राथमिक स्वास्थ्ये केन्द्रमा एक वर्ष अघि एक्स–रे मेशिन जडान गरेपनि त्यसको सञ्चालन नहुँदा सेवाग्राहीले निकै समस्या भोग्नुपरेको छ । सो क्षेत्रमा हुने दुर्घटनाका विरामीको उपचारमा समस्या हुने गरेको छ ।

गत वर्ष एक्स–रे स्थापना गरियो तर प्राविधिक पनि पठाइएको छैन भने त्यसको अन्य सपकरण र रिल धुने स्थान समेत बनाइएको छैन । टिबिका विरामीले खाने दवाई अव १५ दिनकालागि मात्र रहेको ओलीले बताउनुभयो । लगातार रुपमा खाँदै आएका टिविका विरामीले बिचमा औषधि छुट्यो भने फेरि पुरानै अवस्थाबाट खानुपर्ने बाद्यता रहेको छ । स्वास्थ्य संस्थामा दैनिक पाँच जनाले टिविको औषधि खाने गरेकाछन् ।

यसप्रति सरोकारवाल निकायको ध्यान जानुपर्ने माग विरामीहरुको छ । आँखा र कानका विरामीहरु अस्पतालमा आउने गरेपनि उनीहरुका लागि कुनै पनि प्रकारको दवाई नभएको अस्पतालले जनाएको छ ।आमा सुरक्षाको बजेट हालसम्म नआउँदा अस्पतालमा सुत्केरी हुने महिलाहरुले रकम पाउन सकेका छैनन् ।

बेलौरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मानबहादुर चन्दले नगरपालिकाको बजेट १५ लाख रुपैया रहेको र सोही रकमको औषधि खरिद गरेर वितरण गरेको बताउनुभयो । श्रीपुर प्राथमिक स्वास्थय केन्द्रका लागि आश्यक औषधि खरिद गर्ने र वितरण गर्ने बताउनुभयो ।

स्वास्थ्य संस्थाका लागि अत्यावश्यक औषधि खरिद गर्ने आश्वासन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्दले बताउनुभयो । नगर प्रमुख पोतीलाल चौधरीले पनि अस्पतालमा औषधि कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।