चार अर्ब ४३ करोड ४१ लाख ६ हजार रुपैयाँ बराबर तेल निर्यात

0
Shares

कृष्णउदास खनाल, वीरगञ्ज
मुलुकको मुख्य भन्सार नाका वीरगञ्ज भएर चार अर्ब ४३ करोड ४१ लाख ६ हजार रुपैयाँ बराबरको दुईथरी खाने तेल भारत निर्यात भएको छ।

नेपालबाट भारततिर भटमासको तेल र पाम आयल निर्यात सुरु भएको हो । वीरगन्ज भन्सार कार्यालयका अनुसार यो नाकाबाट २०७५ चैतसम्म ३१ हजार एक सय ७३ टन पाम आयल निर्यात भएको छ। पाम आयल निर्यातबाट नेपाली उद्योगले तीन अर्ब ४० करोड १५ लाख ९० हजार रुपैयाँ आर्जन गरेका छन्।

त्यस्तै, भटमासको तेल निर्यातबाट एक अर्ब तीन करोड ३२ लाख ६ हजार रुपैयाँ भित्रियाएका छन्। दुवैथरी गरेर ३९ हजार एक सय ८६ टन तेल निकासी भएको छ। यसबाट चार अर्ब ४३ करोड ४१ लाख रुपैयाँ भित्रिएको हो।

सुरुमा नेपाली उद्योगले भारतीय बजारतिर वनस्पति घिउ–तेल निर्यात गर्न पाएका बेला त्यस्ता उद्योगमा धमाधम लगानी थपिए। नेपाली वनस्पति घिउ–तेल उद्योगको त्यो सुनौलो समय धेरै चलेन।

स्वदेशी मागको तेल आपूर्ति धान्नेभन्दा बढी क्षमतामा उत्पादन गर्न सक्ने गरी धमाधम उद्योग खुलेका थिए। त्यसपछि भारतमा लागू भएको नयाँ करको दरले गर्दा करिब पाँच वर्षअघि वनस्पति घिउ निर्यात बन्द हुन पुगेको उद्योगी ओमप्रकाश सिकारियाको भनाइ छ ।

नेपाल सँगै भारतीय बजारमा वनस्पति घिउ प्रयोगकर्ता न्यून भइसकेकाले त्यसको निर्यात फेरि ब्युँतिने आशा भने नेपाली उद्योगीले गरेका छैनन्। अहिले आएर तेल निर्यात सुरु भएपछि उद्योग फेरि तंग्रिने विश्वास उद्योगीमा जागेको छ। विदेशबाट कच्चा तेल आयात गरी उद्योगले प्रशोधन र पुनः ‘प्याकिङ’ गर्ने गरेका छन्। अहिले त्यही तेल निर्यात सुरु भएको हो।