सधैँका लागि शान्ति प्रक्रिया टु्ङ्गिएर विश्वमा नमूना बनोस् : अध्यक्ष दाहाल   


काठमाडौँ,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न कारणले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविनसम्बन्धीका विषय टुङ्गिन बाँकी रहेकाले चाँडै नै बाँकी काम पूरा गरी विश्वमै उदाहरणीय बनाउनुपर्ने बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले शान्ति प्रक्रियाका केही कुरा पूरा गर्न बाँकी रहेको उल्लेख गर्दै आफैँले शुरु गरेको शान्ति प्रक्रिया पूरा गर्न सहयोगी हातको खाँचो रहेको औँल्याउनुभयो । दिवङ्गत मानव अधिकारवादी नेता पद्ममरत्न तुलाधरको जीवनीमा जितेन्द्र रसिकद्वारा लिखित पुस्तक ‘सर्वरत्न’को आज लोकार्पण गर्दै अध्यक्ष दाहालले विविध कारणले सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगले काम गर्न नसकेकाकाले ऐन संशोधन र दुवै आयोग बनाउने प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।

उहाँले विगतमा जसरी पद्ममरत्न तुलाधर र दमनाथ ढुङ्गानाले सहजकर्ताको भूमिका निभाएर शान्ति प्रक्रिया अगाडि बढ्यो त्यसैगरी ढुङ्गाना, चरण प्रसार्इंलगायतले भूमिका खेल्ने बेला आएको बताउनुभयो । “म सबैसँग अपिल गर्न चाहन्छु, अन्तर्राष्ट्रिय मान्यता सत्यनिरुपण र मेलमिलापसम्बन्धी नेपालको राष्ट्रिय आवश्यकता, हामी आफैँले गरेको शान्ति प्रक्रिया र त्यसको पनि निकै संवेदनशील तथा जटिल पक्ष सेना समाजोजन, हतियार व्यवस्थापन, लोकतान्तिकीकरण तथा मानव अधिकारलाई सम्मान गरेर निष्कर्षमा पु¥याउन आम नेपालीको हात जुटोस्”, उहाँले भन्नुभयो ।

“एकपटक र सधैँका लागि यो प्रक्रिया टुङ्ग्याइयोस् र नेपालको शान्ति र यसका निष्कर्ष विश्वभरि उदाहरण बन्न सकुन्, म दमनजी र चरण जीलाई सहयोगका लागि अपिल गर्न चाहन्छु,” अध्यक्ष दाहालले थप्नुभयो । शान्ति प्रक्रिया टुङ््याउनु पनि तुलाधरलाई सच्चा श्रद्धाञ्जलि हुने उल्लेख गर्दै उहाँले आज मात्रै प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलसँगको भेटमा तुलाधरले देशमा गरेको योगदान र उहाँप्रतिको सरकारको सम्मानमा तालमेल नभएको हो कि भन्ने चर्चा भएको जानकारी गराउनुभयो । अध्यक्ष दाहालले उहाँको बहुआयामिक व्यक्तित्व र योगदानका बारेमा राज्यकोतर्फबाट गर्ने भूमिकाबारे एकपटक राम्रै छलफल गर्नुपर्छ भन्ने विषयमा मा सबै गम्भीर रहेका छौं भन्नुभयो ।

तुलाधर भाषा र पहिचानको आन्दोलन, प्रेस स्वतन्त्रता, मानव अधिकार, राजनीतिककर्मी, अधिकारका निम्ति लड्ने, नागरिक आन्दोलनका अगुवा तथा साहित्यकरुपमा बहुआयामिक व्यक्ति भएको अध्यक्ष दाहालले स्मरण गर्नुभयो । इमान्दारिता, सरलता र भावुकताका दृष्टिले देशभक्त र लोकतन्त्रवादी नेता भएको चर्चा गर्दै, तुलाधर र दमनाथ ढुङ्गानाको सक्रियता र योगदान नभएको भए शान्ति र लोकतान्त्रिककीरणको प्रक्रिया अगाडि आउन गाह्रो हुने उहाँले स्मरण गर्नुभयो ।

भूमिगतरुपमा आफूलाई भेटी शान्ति प्रक्रियामा जानुपर्छ भनेर उत्प्रेरित गर्ने, विश्वास र भरोसा पनि गर्ने र कमजोरी केलाउन सक्ने भएकै कारणले उहाँलाइ अभिभावकको रुपमा आफुले सम्झने गरेको दाहालले बताउनुभयो । फरक प्रसङ्ग जोड्दै अध्यक्ष दाहालले बालुवाटारलगायत देशका धेरै क्षेत्रका जग्गाको सम्बन्धमा अहिले पार्टीले छलफल केन्द्रित गरेकोसमेत जानकारी दिनुभयो ।

पुस्तक लोकार्पणमा आफ्ना भनाई राख्दै मानव अधिकारकर्मी दमनाथ ढुङ्गानाले राष्ट्रको विकास र रुपान्तरणमा तुलाधरको योगदान अविस्मरणीय रहेको बताउँदै उहाँको स्मृतिमा प्रतिष्ठान स्थापना गर्ने भनेर यसअघि मन्त्रीबाट आएको कुरा व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो ।

अर्का अधिकारकर्मी मल्ल के सुन्दरले पुस्तकका बारेमा चर्चा गर्दै यसमा तुलधारको जीवनी, उहाँले विभिन्न कालखण्डमा गरेको भाषण र उहाँका विषयमा विभिन्न व्यक्तिले बोलेका कुरा पुस्तकमा समावेश भएको उल्लेख गर्नुभयो । कार्यक्रममा लेखक जितेन्द्र रसिक र महिला अधिकारकर्मी स्टेला तामाङलेसमेत आफ्ना भनाइ राख्नुभएको थियो ।
रासस