गाउँ पालिकाले गरे खरको छानो विस्थापित गर्ने अभियान, ३ वर्षभित्र जिल्ला नै खरको छाना मुक्त हुने


कविराज नेपाल, पाल्पा ।
हुनत खरको छाना नेपाली जनजीवनको प्रतिक हो तर आजभोली खर पाउन मुस्किल र आगलागीको डर अनि यसलाई छाउने र मर्मत गर्ने काम पनि झण्झटिलो वन्दै गएको छ । कुनै वेला गरिवीको प्रतिकको रुपमा समेत लिइने खरका छाना भएका घरहरु गाउघरतिर फाट्टफु्ट्ट देखिन्छन तर अवको तिनवर्ष भित्रमा पाल्पामा रहेको सीमित संख्याका यस्ता घरहरु पनि नदेखिने भएका छन ।

आगामी ३ बर्ष भित्र पाल्पाका १० वटै स्थानीय तह खरको छाना मुक्त वनाउने अभियानमा लागेपछि जिल्लानै खरको छाना मुक्त हुने भएको हो । आहिले तानसेन नगरपालिका, रामपुर नगरपालिका, पुर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिका, तिनाउँ गाउँपालिका, माथाँगढी गाउँपालिका, रिव्दिकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकाले खरको छाना मुक्त अभियान संचालन गरेका छन । वाकी स्थानीय तहले पनि यही अभियानलाई कार्यक्रम भित्र समेटेपछि जिल्ला नै खरको छाना मुक्त हुने भएको हो ।

गरीव घरपरिवारले मात्र घरमा खरको छाना प्रयोग गर्दै आएकोले केही रुपमा भएपनि गरीवी न्युनिकरणको लागी पाल्पाका स्थानीय सरकारले जस्ता पाता विरणको कार्यक्रम ल्याएका हुन । एक घर बाट बर्षेनी खरको छाना परिवर्तन गरिरहदा बार्षिक रुपमा ३० देखी ४० हजार खर्च हुदै आएको छ ।

पाल्पामा सबैभन्दा बढी रैनादेवी छहरा गाउँपालिकाले खरको छाना मुक्त अभियानको लागि बजेट विनियोजन गरेको छ । गत बर्ष ६० लाख बजेट विनियोजन गरी ५ सय घरपरिवार लाई खरको छाना मुक्त गराएको थियो । चालु आर्थिक बर्षमा गाउँपालिकाले १ करोड रुपैया बजेट विनियोजन गरेको छ । यस बर्ष ७ सय घरपरिवार लाई ९ फुटे टिन वितरण भईरहेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताउनु भयो । गाउँपालिका भित्र १ हजार ८ सय घरधुरी खरको छाना भएकोमा आगामी बर्ष ०७६, ०७७ मा रैनादेवी छहरा गाउँपालिका लाई खरको छाना मुक्त गाउँपालिका घोषणा गर्ने अध्यक्ष कार्कीले बताउनु भयो ।

बगनासकाली गाउँपालिकाले आगामी बर्ष खरको छानामुक्त गाउँपालिका घोषणा गर्ने तयारीका साथ काम गर्दै आएको छ । बगनासकालीले गत बर्ष ५५ घर परिवारलाई ३ वण्डलका दरले जस्ता पाता वितरण गरेको थियो । यस बर्ष ८३ घर परिवारमा जस्ता पाता वितरण गरेको छ । गाउँपालिका भित्र रहेका १ सय ६ घरपरिवारलाई आगामी बर्ष जस्ता पाता वितरण गरी खरको छाना मुक्त गाउँपालिका घोषणा गर्ने गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले जानकारी दिनुभयो । जस्ता पाताको लागि २ बर्षको अवधीमा ४० लाख रुपैया खर्च भएको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताउनु भयो ।

जिल्लाको दक्षिणी भेगमा रहेको माथागढी गाउँपालिकाले जस्तापाता विरण गरी गाउँपालिका लाई ३ बर्ष भित्र खरको छाना मुक्त गाउँपालिका बनाउने गरी काम गर्दै आएको छ । पुर्वखोला गाउँपालिकाले ५६ जना घरपरिवारमा जस्ता पाता वितरण गरेको छ । तिनाउँ गाउँपालिकाले खरको छाना मुक्त अभियानको लागी यस बर्ष २० लाख रुपैयाको जस्ता पाता खरिद गरेको छ । भुकम्प पिडित, गरिवीको रेखामुनी रहेका घरपरिवार पहिलो प्राथमिकतामा राखी जस्तापाता वितरण शुरु गरेको छ ।

तानसेन नगरपालिकाको ग्रामीण वडाहरुमा अझै पनि केयौको संख्यामा छानायुक्त घरहरु भएकोले चालु आर्थिक बर्ष बाट वडा वडामा खरको छाना मुक्त अभियान शुरु गरेको छ । रामपुर नगरपालिकाले २ बर्षको अवधीमा ३ सय १० जना घरपरिवारमा जस्तापाता वितरण गरेको छ । रिव्दीकोट गाउँपालिकाले खरको छाना मुक्त अभियान अन्तरगत सेतो घर कार्यक्रम संचालन गर्दै आएको छ । गाउँपालिकाले २ बर्षको अवधीमा २ सय ३० घरपरिवारमा ३ बण्डलका दरले जस्ता पाता वितरण गरेको छ ।

निस्दी र रम्भा गाउँपालिकाले खरको छानायुक्त भएका घरहरुको डाटा संकलनको काम गर्दै आएको छ । प्रत्येक बर्ष खरको छाना परिवर्तन गर्दा एक परिवारको ३० देखी ४० हजार खर्चलाई बचाउन, गाउँघरमा आगलागी जस्ता घटना धनजनको क्षती हुन बाट बचाउन, बर्षायाममा पानी चुहिने समस्या बाट जोगाउन, जिल्लामा पशुपशुपालन व्यबसाय लाई टेवा पुर्याउन पाल्पा जिल्लामा खरको छाना मुक्त अभियान स्थानीय सरकारले संचालन गर्दै आएका हुन ।