गुडीरहेको जिपबाट हाम फालेका कोलीको उपचारका क्रममा मृत्यु


किरन धामी दार्चुला ।
गुडिरहेको जिपबाट हाम फालेर गम्भिर घाइते भएका महाकाली नगरपालिका वडा नम्बर ७ धापका ४२ वर्षिय नरे कोलीको उपचारका क्रममा भारतको हल्द्धानीमा मृत्यु भएको छ ।

मंगलबार विहान दार्चुला जिल्ला सदरमुकाम खलंगाबाट गोकुलेश्वर जादै गरेको म १ ज २२२ नम्बरको जिपको पछाडी सवार कोलीले जिप गुडेकै अवस्थामा हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिप चालकलाई थाहै नदिई नगरपालिकाकै वडा नम्बर ७ मा रहेको मालिकार्जुन माध्यमिक विद्यालय जनिकबाट जिप चढेका कोलीले प्रहरी चौकी धाप नजिकै पुग्दा हाम फालेको खुल्न आएको प्रहरीले जनाएको छ ।

जिपको पछाडी समान मात्रै भएका कारण चालकले कोली चढेको थाहा नपाएको बताएको प्रहरीले जनाएको छ । जिपबाट हाम फालेर गम्भिर घाइते भएका कोलीको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभए पछि कैलालीको पदमा अस्पताल रेफर गरिएको थियो ।

पदमामा समेत उनको उपचार सम्भव नभए पछि पदमा अस्पतालले भारतको हल्द्धानी रेफर गरेको तथा उपचारका क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिप चालक शिव सिह धामी र जिप प्रहरी नियन्त्रणमा रहेका छन् ।

यसैविच नुहाउने क्रममा मंगलबार महाकाली नदिमा बगेर बेपत्ता भएका मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ जौलजिविका १५ वर्षिय भुपेन्द्र बहादुर चन्द अझै फेला नपरेको प्रहरीले जनाएको छ । बेपत्ता चन्दको खोजीकार्र्य भैइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।