सरकारले स्वतन्त्र निकाय माथि हस्तक्षेप गर्यो: महामन्त्री शशांक


यमलाल भुसाल, बुटवल ।
नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको चुनावमा काँग्रेसलाई पहिलो पार्टी बनाउने गरी काम गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

पार्टीमा एक भएर अंगाडी बढ्ने हो भने नेपाली काँग्रेसलाई कसैले पनि हराउन नसक्ने बताउँदै उहाँले नेता कार्यकर्ता एक हुन पनि आग्रह गर्नुभयो । नेपाली काँग्रेसको आदर्श, नीति राम्रो रहेको, कार्यकर्ता कुशल भएको र पार्टीको लामो ईतिहास रहेकाले पहिलो पार्टी बनाउन सकिने भनाई राख्नुभयो ।

नेपाली काँग्रेसले सुरु गरेको पहिलो चरणको राष्ट्रिय जागरण अभियानको बुधबार रुपन्देहीको भैरहवामा शुभारम्भ गर्र्दै महामन्त्री कोईरालाले अहिलेको दुई तिहाईको सरकारले केही पनि राम्रो काम गर्न नसकेको र उसले गरेका भ्रष्टाचार, अनियमितता, सरकारको अराजकताका बिषयमा आम नागरिकलाई जानकारी गराउने गरी राष्ट्रिय अभियान सुरु भएको बताउनु भयो ।

अभियानका क्रममा अहिलेको सरकारले जुन ज्यादती गरेको त्यसको पर्दाफास गर्नुपर्ने उहाँले बताउनु भयो । निर्मला हत्या काण्ड, बुढीगण्डकी, वाईडबढी, एनसेल लगायतका धेरै काण्डमा सरकार मुछिएको बताउँदै ती काण्डहरु जनतामाझ पर्दाफास गर्नुपर्ने बताउनु भयो ।

महामन्त्री कोईरालाले मुलुकमा अहिले भएको बिकास नेपाली काँग्रेसकै नेतृत्वमा भएको बताउँदै कम्युनिष्ट सरकारबाट बिकास सम्भव नभएको भनाई राख्नुभयो । ‘नेपाली काँग्रेसले नेतृत्व लिँदा यो देशमा सात हजार किलो मिटर बाटो थियो, अहिले ८६ हजार किलो मिटर पुगेको छ, एउटा मात्रै मेडिकल कलेज थियो, अहिले २० वटा पुग्यो, दुई वटा मात्रै बिश्व विद्यालय थियो अहिले १२ वटा छन्, हरेक गाउँमा स्वास्थ्य चौकी कसले पु¥यायो ?’ उहाँले भन्नुभयो–‘रेमिट्यान्सकै कारण मुलुक असफल राष्ट्र हुनबाट बाँचेको छ ।’

अहिले मुलुकको बजेटमा करिव ३५ प्रतिशत रेमिट्यान्सको योगदान रहेको बताउँदै उहाँले तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको सरकारले राहदानीमा खुल्ला बजारको नीति लिएपछि युवाहरु राहदानी लिएर बिदेश जान थालेका र मुलुकमा रेमिट्यान्सको योगदान भएको उल्लेख गर्नुभयो । त्यस अंगाडी पञ्चायत कालमा आम नागरिकले राहदानी बनाउने बिदेश जान पाउने थिएनन् ।

उहाँले सरकारले स्वतन्त्र निकायमाथि हस्तक्षपको प्रयास गरेको बताउँदै नेपाली सेनालाई प्रधानमन्त्री मातहत ल्याउने काम प्रधानमन्त्रीको शक्ति केन्द्रिकृत गर्ने काम भएको आरोप लगाउनु भयो । महामन्त्री कोईरालाले सरकारले स्वतन्त्र निकायहरु न्यायपालिका, सञ्चार माध्यम तथा स्वतन्त्र प्रेस, न्यायपालिकामाथि हस्तक्षप गरेको बताउँदै स्वतन्त्र निकायलाई स्वतन्त्र हुन दिनुपर्ने भनाई राख्नुभयो ।

उहाँले प्रधानमन्त्री केपी ओलीले जनतालाई झुटो सपना बाँडेको बताउँदै पानी जहाज, रेलमार्ग ल्याउने कुरामा पहिले सम्भाव्यता अध्ययन, लगानी लगायतका कुरा नगरिकनै सरकारले सपना मात्रै बाँड्ने काम गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा केन्द्रीय प्रतिनीधि तथा प्रदेश सभा सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले मंगलबारको प्रतिनीधि सभा संसदमा प्रधानमन्त्री स्वयम सभामुख बनेको बताउँदै कम्युनिष्ट सरकारमा लोकतान्त्रिक चरित्र हराउँदै गएको आरोप लगाउनु भयो । उहाँले सदनमा प्रमुख प्रतिपक्षि दललाई समेत नसुन्ने र सभामुखलाई पनि पाखा सार्ने प्रधानमन्त्रीको चरित्रले लोकतन्त्र संकटतर्फ अंगाडी बढेको भनाई राख्नुभयो ।

त्यस्तै महिला संघकी केन्द्रीय सदस्य सीता नेपालले मुलुकमा दुई तिहाईको सरकार रहँदा पनि महिला दिनप्रतिदिन असुरक्षित हुँदै गएको बताउनु भयो । अपराधमा संलग्नलाई सरकारबाटै संरक्षण गर्ने र सुरक्षा दिने गतिबिधिका कारण मुलुकमा महिला हिंसा बढ्नुका साथै अपराधले प्रसय पाईरहेको भनाई राख्नुभयो ।

नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको सभापतित्वमा भएको कार्यक्रममा स्वागत उपसभापति फणेन्द्र शर्मा र सञ्चालन सचिव रामकृष्ण खाँणले गर्नुभएको थियो । नेपाली काँग्रेसले सुरु गरेको एक महिने राष्ट्रिय जागरण अभियान रुपन्देही जिल्लामा बिहिबार पार्टीको बैठक बसेर थप कार्यक्रम तय गरिने बताईएको छ ।