देशलाई स्वच्छ राजनीतिक दिशा दिन्छौँः पौडेल   


सिन्धुली,  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई सुधार गर्ने र देशलाई सही बाटामा हिँडाउन अहिले जागरण अभियान चलाइएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्रका विवाद पूरै समाधान नभए पनि यसलाई सही बाटामा हिँडाउन पनि सबै एक भएर लाग्ने र जागरण अभियान सफल बनाइने बताउनुभयो ।

उहाँले भन्नुभयो, “ गलत प्रवृत्तिका विरुद्धमा अभियान चल्नेछ, अभियानले आफैँभित्र रहेको धुलो पनि टकटक्याएर देशलाई स्वच्छ राजनीतिक दिशा दिने सङ्कल्प लिएको छ, यसै सङ्कल्पका साथ जिल्ला जिल्लामा अभियान चलाइएको छ ।”

सो अवसरमा काङ्ग्रेसका नेता रामशरण महतले सङ्क्रमणकालीन अवस्था नसकिएको, संविधान पूरा कार्यान्वयनको सङ्क्रमण अझ बाँकी रहेको, तीन थरिका सरकारको कार्यविभाजन र शान्तिसुरक्षाका विषयमा विवाद भएकोर कर्मचारी प्राविधिक क्षमतामा कमी भएको विचार व्यक्त गर्नुभयो ।
रासस