अपाङ्गता छात्रवृत्ति जेब्राक्रसिङमा   


सुर्खेत, “म पोलियो रोगले अपाङ्ग भएपछि आमाले यहाँको सहकारीमा मेरो नाममा केही रकम जम्मा गर्दिनुभएको रहेछ । आमाको त्यो अगाध प्रेमले मलाई अहिले पनि विह्वल बनाउँछ”, रासससँग कुरा गर्दै भावुक मुद्रामा किरणकिशोर सापकोटाले भन्नुभयो ।

वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थान सुर्खेत निवासी सापकोटाले अहिले मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा विकास र अर्थशास्त्र विषय लिएर स्नातकोत्तर तहमा अध्ययनरत हुनुहुन्छ । अपाङ्गता भएका व्यक्तिले पनि समाज रुपान्तरणका लागि महत्वपूर्ण योगदान दिन सक्छन् भन्ने गतिलो उदाहरण प्रस्तुत गर्नुभएको छ, २६ वर्षीय सापकोटा ।

उहाँ भन्नुहुन्छ, “समाजका लागि केही गर्नुपर्छ भनेर मैले एउटा सामाजिक काम गरेँ– त्यो हो जेब्राक्रसिङ् निर्माण ।” शहरमा दैनिक गुड्ने सवारीसाधनको लहर हुन्छ र सडकपेटी तथा वारपार गर्ने मान्छेको भीड पनि त्यत्तिकै नै हुन्छ । त्यही भीडको बीचमा एक दिन आफ्नो घर अगाडि भएको अटोरिक्सा दुर्घटना दृश्यले मानवीय क्षति न्यूनीकरणका लागि यहाँ जेब्राक्रसिङ् निर्माण गर्नुपर्छ भन्ने प्रेरणा आफूलाई मिलेको उहाँले बताउनुभयो ।

एक इञ्जिनीयर साथी पुजन गिरीले सडकमा जेब्राक्रसिङ र साङ्केतिक चिह्नहरुको स्केच बनाइदिएको बताउँदै उहाँले ट्राफिक प्रहरीको सहगोग र समन्वयमा वीरेन्द्रनगरको भैरवस्थान विद्यालय अगाडि, मुख्यबजारको वीरेन्द्रचोक र सुर्खेतको तल्लोबजारबाट हटिया जाने चोकमा जेब्राक्रसिङ र सङ्केत चिह्न तयार गरिएको बताउनुभयो ।

आमाले मेरा निम्ति बचत गरेको केही रकम र अपाङ्ग छात्रवृत्तिवापत विश्वविद्यालयबाट प्राप्त रु ३० हजार गरी कूल रु ५० हजारको लगानीमा जेब्राक्रसिङ र सङ्केत चिह्न तयार गरिएको उहाँले जनाउनुभयो ।

त्यस्तै, वीरेन्द्रनगरकै तीन ठाउँमा २० थान क्याटलाइट (गाडीको बत्तीले टल्कने बत्ती) राखेको उहाँले बताउनुभयो । साथी पुजनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार जेब्राक्रसिङको स्केच बनाइदिएपछि काम गर्न सजिलो भएको उहाँको भनाइ थियो ।

सापकोटाले भन्नुभयो, “सरकारले महत्वाकाङ्क्षी योजना ल्याउँछ तर साना कुरामा ध्यान दिँदैन । तिनै स–साना कुरा विकासका बाधक बनिदिन्छन् ।” समाजमा सबैभन्दा हेपिएको र पछाडि परेको अपाङ्गता भएका व्यक्तिप्रतिको कमजोर दृष्टिकोणले आफूहरुलाई पीडा हुने गरेको दुखेसो पोख्दै उहाँले सबै तहका सरकारले अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर अवसर दिन आग्रह गर्नुभएको छ । (तस्वीर उपलब्ध छ)
रासस