प्रदेश बस सञ्चालन अन्यौलमा


हेमन्त पौडेल, कैलाली ।

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष भित्रै सञ्चालन गर्ने भनेको प्रदेश बस सेवा सञ्चालन अन्यौलमा परेको छ । आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममै समेटिएर आएको प्रदेश बस सञ्चालन कार्य अहिले अन्यौलमा पर्न पुगेको हो । नीति तथा कार्यक्रम प्रस्तुत गर्दा तीन महिना भित्रै बस सेवा सञ्चालन गर्ने भनेर उद्घोष गरेको प्रदेश सरकारले चालु आर्थिक वर्ष सकिन दुई महिना मात्रै बाँकी रहँदा पनि सो काम अगाडि बढाउन सकेको छैन ।

सुरुमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदा तीन महिना भित्रै बस सञ्चालन गर्ने उद्घोष गरियो भने दोस्रो पटक भौतिक पूर्वाधार विकास मन्त्रालयले यही बैशाखसम्ममा बस सेवा सञ्चालन गर्ने ठोकुवा गरेको थियो ।

त्यो बेला मन्त्रालयका सचिव इन्द्रदेव भट्टले बैशाख महिना भित्रै प्रदेश बस सडकमा गुडाउँछु भनेर ठोकुवा गर्नुभएको थियो । तर, अहिले भने उहाँले नै बस सञ्चालन सम्बन्धी ऐन, सडकको अवस्थामा अध्ययन र कार्ययोजना नबनेसम्म बस सेवा सञ्चालन हुन नसक्ने बताउनुभएको छ । ‘प्रदेश बस सञ्चालन गर्नु भनेजस्तो सजिलो छैन, यहाँको हकमा विद्युतीय बस चलाउनु त झन गाह्रो छ’ उहाँले भन्नुभयो, ‘जुनसुकै बस चलाएपनि आवश्यक तयारी चाहिन्छ, त्यो अहिलेसम्म हुन सकेको छैन, लागिरहेकै छौ ।’

सुरुका तीन महिनामै वर्ष नै बस सेवा सञ्चालन गर्ने जनाएको प्रदेश सरकारसंग अहिलेसम्म त्यससम्बन्धी कुनै योजना छैन । प्रदेश सरकारले चालू आर्थिक वर्षमा प्रदेश बस सेवा सञ्चालनका लागि २० करोड बजेटसमेत विनियोजन गरेको छ । चालू आर्थिक वर्ष सकिन अब दुई महिना मात्रै बाँकी रहँदा यहाँका सडकको अवस्थाका बारेमा पनि अध्ययन गरिएको अवस्था छैन ।

मन्त्रालयका सचिव भट्टले बस सञ्चालनका लागि यहाँका सडकको अवस्थालगायतका बारेमा अध्ययन गर्न कोही तयार नहुँदा ढिलाई भइरहेको बताउनुभयो । उहाँले बस सञ्चालन सम्बन्धी ऐन, कार्ययोजना नहुँदासम्म बस सञ्चालन गर्न नसकिने बताउनुभयो । उहाँले अहिले यस सम्बन्धी विज्ञ डा. प्रदिप श्रेष्ठलाई यहाँको सडकको अवस्थालगायतका बारेमा अध्ययन गर्ने जिम्मेवारी दिइएको बताउनुभयो ।

‘प्रदेश बस सञ्चालन गर्न सजिलो काम होइन,’ उहाँले भन्नुभयो,’ उहाँले भन्नुभयो, ‘कसैले पनि यसमा हात हाल्न चाहेनन्, बल्ल एक जना व्यक्ति सम्पर्कमा आउनुभएको छ ।’ उहाँले अध्ययन प्रतिवेदन हात परेपछि कसरी बस सञ्चालन गर्न सकिन्छ भनेर भन्न सकिने बताउनुभयो । उहाँले यसअघि तीन÷चारवटा टीमसंग बसेर बस सञ्चालनका बारेमा छलफल गरे पनि सफल हुन नसकेको बताउनुभयो ।

‘विद्युतीय बस सञ्चालन गर्नु हाम्रा लागि नयाँ कुरा हो,’ उहाँले भन्नुभयो, ‘तपाईहरु आफै भन्नुहोस्, हामी त्यसै गर्छौं ।’ प्रदेश बस सञ्चालन प्रदेशका नौंवटै जिल्लामा सञ्चालन गर्ने कार्यनीति छ ।

तर, अहिले यो कार्यक्रमलाई सूचारु गर्नका लागि कैलाली र कञ्चनपुरमा मात्रै सञ्चालन गर्ने कि भन्ने कोणबाट पनि छलफल भइरहेको सचिव भट्टले बताउनुभयो । कञ्चनपुरको गड्डाचौकीदेखि चिसापानीसम्म विद्युतीय चार्जिङ स्टेसन राखेर बस सेवा सञ्चालन गर्ने गरी छलफलसमेत भएको बताइएको छ । तर, सचिव भट्टले यो सबै गर्नका लागि त्यसअघि ऐन र कार्ययोजना नै चाहिने बताउनुभयो । ‘रोड कस्तो हुने, बस कति पावरको हुनुपर्छ, बसपार्क कता राख्ने लगायत सबै आवश्यक हुन्छ, उहाँले भन्नुभयो ।

मन्त्रालयकाअनुसार प्रदेश बस सेवा सञ्चालनका लागि काठमाडौंको साझा यातायातले पनि प्रस्ताव गरिरहेको जनाएको छ । मन्त्रालयका सचिव भट्टले अहिले नै कसैलाई यसबारे निर्णय नदिइसकेको बताउनुभयो ।

यसअघि बस सेवा सञ्चालनका लागि मन्त्रीले चासो दिइरहेको भएपनि कर्मचारीले वास्ता नगर्दा यो कार्यक्रम सुरुवात हुन नसकेको गुनासो आएको थियो । कर्मचारी अभावले गर्दा कामकाज सम्हाल्न समस्या भएकाले यो कार्यक्रम पनि प्रभावित हुन पुगेको मन्त्रालयका कर्मचारी बताउँछन् ।