विस युनिसेफ प्रतिनिधि नेपाल


समाचारपत्र, काठमाडौं

युनिसेफले नेपालका लागि नयाँ प्रतिनिधिको रूपमा एल्के विसलाई ल्याएको छ । विस बालबालिका र महिलाको अधिकारको क्षेत्रमा लामो अनुभव भएकी जर्मन नागरिक हुनुुहन्छ।‘म लामो समयदेखि नेपाल आउन चाहन्थें’, विसले भन्नुभयो।

‘म यो सुन्दर देशमा आउन र नेपालका बालबालिका र महिलाको सेवा गर्ने अवसर पाउँदा निकै खुसी छु।’विसले विगत दुई दशक विभिन्न खालका विकासकालीन, संक्रमणकालीन र आपत्कालीन परिवेशमा बालबालिका, महिला र उनीहरूको समुदायको जीवन सुधार्नका लागि काम गर्नुभएको छ। उहाँ विसं सन् १९९६ मा रुवाण्डामा बाल संरक्षण अधिकृतको रूपमा युनिसेफमा प्रवेश गर्नुभएको थियो र त्यसपछि लाइबेरियामा बाल संरक्षण प्रमुखको रूपमा काम गर्नुभएको थियो।

सन् १९९९ र २००१ को बीचमा उहाँले कोसोभोको आपत्कालीन अवस्थामा कार्यक्रम संयोजक र एफवाईआर म्यासेडोनियाको नायव प्रतिनिधिको रूपमा बाल्कन क्षेत्रमा काम गर्नुभएको थियो। सन् २००३ देखि २००७ मा म्यानमारमा युनिसेफको नायब प्रतिनिधिको रूपमा काम गर्नुअघि विसले सन् २००१ देखि २००३ सम्म अफगानिस्तानको आपत्कालीन कार्यसञ्चालनको समयमा आपत्कालीन संयोजन र बाल संरक्षणका क्षेत्रमा वरिष्ठ पदहरू सम्हाल्नुभएको थियो।

विसले सन् २००८ उत्तरी युगान्डामा संयुक्त राष्ट्रसंघीय देशीय टोलीका लागि वरिष्ठ शान्ति स्थापना तथा पुनर्लाभ संयोजकको रूपमा काम गर्नुभयो भने सन् २००९ देखि २०१४ सम्म पूर्वी तथा दक्षिणी अफ्रिका क्षेत्रका लागि युनिसेफको नायब क्षेत्रीय निर्देशकको रूपमा काम गर्नुभयो।सन् २०१४ मा उहाँ मेडागास्करका लागि युनिसेफको प्रतिनिधिको रूपमा नियुक्त हुनुभयो। नेपालका लागि प्रतिनिधिको पदमा काम शुरू गर्नुअघि अगस्त २०१८ देखि विसले युनिसेफको दक्षिण एसियाली क्षेत्रीय कार्यालयमा कायममुकायम नायव क्षेत्रीय निर्देशकको रूपमा काम गर्नुभयो।विसले म्युनिख विश्वविद्यालयबाट सामाजिक तथा राजनीतिशास्त्रमा स्नातकोत्तर र हावर्ड विश्वविद्यालयको केनेडी स्कुल अफ गभर्मेन्टबाट जनप्रशासनमा स्नातकोत्तर गर्नुभएको छ। युनिसेफमा आबद्ध हुनुअघि, विसले जर्मनी र संयुक्त राज्य अमेरिकाका विभिन्न द्वन्द्व समाधान संस्था र शिक्षण संस्थामा काम गर्नुभएको थियो।