निखिलको अलराउन्डमा प्रदेश–२ लाई उपाधि


नेपाल समाचारपत्र, काठमाडौं
कप्तान निखिल सिंहले अलराउन्ड प्रदर्शन गर्दा प्रदेश–२ ले मनमोहन स्मृति अन्तरप्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
मंगलबार त्रिवि मैदानमा भएको फाइनल खेलमा प्रदेश–२ ले सुदूरपश्चिम ९प्रदेश–७० लाई ४ विकेटले हराएर उपाधि हात पारेको हो। निखिलले २८ रन र ३ विकेट लिएर टोलीलाई उपाधि दिलाउन शानदार प्रदर्शन गरे।

योसँगै विजेता टोलीले २ लाख ५० हजार र उपविजेता टोलीले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गरे। साथै दुवै टोलीलाई क्रिकेट सामग्री पनि प्रदान गरिएको छ।
प्रतियोगितामा उत्कृष्ट हुनेमा प्रदेश–३ कै खेलाडीको वर्चश्व भएको छ। आइस भट्टराई ब्याट्सम्यानमा, दीपक बोहोरा बलरमा र भार्गव चटौत उदीयमान खेलाडीमा उत्कृष्ट भएका छन्। भट्टराईले ४ खेलबाट १ सय २० रन जोडेका थिए। जबकि बोहोराले ५ खेलमा ८ विकेट लिएका थिए।

ब्याटिङ र बलिङ दुवैमा शीर्षस्थानमा रहेका सुदूरपश्चिमका कप्तान सुवास ऐर प्रतियोगिताभरिकै उत्कृष्ट खेलाडी घोषित भए। उनले बलिङमा कुल ९ विकेट हासिल गर्दा ब्याटिङमा २ सय ९ रन बटुलेका थिए। फाइनल खेलमा पनि उनले ४७ रन बनाएका थिए।

खेलमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ रोजेको थियो जुन गलत निर्णय सावित भएको थियो। टोलीले ३० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३३ रनको योगफल तयार गरेको थियो जसमा सुवासले ५४ बलमा ७ चौकासहित ४७ रन बनाए। अन्यमा सन्दीप विष्टले २८ रन र आशीष भट्टले २१ रनको योगदान दिए। बाँकीको ब्याटिङ नचल्दा उनीहरूको योगदान पनि खेर गएको थियो।
बलिङमा प्रदेश–२ का निखिल सिंह र विशाल पटेलले ३÷३ विकेट हासिल गरेका थिए। निखिल फाइनलका उत्कृष्ट खेलाडी घोषित भएका थिए।

जवाफमा प्रदेश–२ ले २६।३ ओभरमा ६ विकेट गुमाएर १ सय ३६ रन बनाउँदै लक्ष्य भेटाएको थियो। टोलीका लागि ओपनर रोहन विकेले सर्वाधिक ३६ रनको योगदान दिए। उनले विस्फोटक ब्याटिङ गर्ने क्रममा २१ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए। कप्तान निखिलले २७ रन जोडे भने विशाल २८ रनमा नटआउट रहेका थिए। सुदूरपश्चिमका बलरमा आशीषले सर्वाधिक ३ विकेट लिएका थिए।