मेगा बैंकको नाफा १३१ प्रतिशतले बढ्यो


काठमाडौं, (नेस)
मेगा बैंक नेपालले चालू आर्थिक वर्ष २०७५÷७६ को तेस्रो त्रैमासिक अवधिसम्म १ अर्ब २१ करोड ४३ लाख रुपियाँ मुनाफा आर्जन गरेको छ। दोस्रो त्रैमाससम्म ७३ करोड २० लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको बैंकले तेस्रो त्रैमासिक अवधिमा थप ४८ करोड २२ लाख रुपियाँ मुनाफा आर्जन गरेको छ। आर्थिक वर्ष २०७४÷७५ को चैत मसान्तसम्म ५२ करोड ४९ लाख रुपियाँ मुनाफा गरेको बैंकले यस आर्थिक वर्षको सोही अवधिमा १३१ प्रतिशतले अधिक मुनाफा गर्न सफल भएको छ।

२०७५ चैत मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कुल निक्षेप ३२ अर्ब २१ करोडले वृद्धि भई ७५ अर्ब २१ करोड रुपियाँ पुगेको छ जुन ७४ दशमलव ८८ प्रतिशतको वृद्धि हो। त्यसैगरी, खुद कर्जा तथा सापटी २८ अर्ब ७१ करोडले वृद्धि भई ७० अर्ब रुपियाँ कायम भएको छ जुन ६९ दशमलव ५४ प्रतिशतको वृद्धि हो।

मेगा बैंकले देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ९६ वटा एटीएम सञ्जाल, ११९ वटा शाखारहित बैंकिङ केन्द्रहरु र २४ सयभन्दा बढी मेगा रेमिट एजेन्टमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।