२०औं घलेगाउँमा महोत्सव शुरू


नेपाल समाचारपत्र, लमजुङ
लमजुङको स्मार्ट भिलेज घलेगाउँमा २०औं महोत्सव सुरु भएको छ। सार्क राष्ट्रकै नमुना गाउँको रूपमा परिचित एवम् नेपालकै पहिलोस्मार्ट भिलेजका रूपमा रहेको २०औं घलेगाउँ तीन दिने महोत्सव शुरू भएको हो।

गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले महोत्सवको उद्घाटन गर्नु भएको हो। उद्घाटन गर्दै उहाँले परम्परागत भाषा, कला संस्कृति बुझेका एक जनाले बनाएको संस्कृति विस्तारै हराउँदै गएको बताउनुभयो। उहाँले आफ्नो पहिचान र संस्कृति चिन्न नसक्दा सम्पत्तिको रूपमा रहेको संस्कृति बिस्तारै लोप भईरहेको भन्दै परम्परागत सस्कृतिको संरक्षण गर्न स्थानीयलाई आग्रह गर्नुभयो।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ग्रामीण भेगमा पाइने जंगली जनावरलाई पालेर पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनुभयो। उहाँले ग्रामीण जनजीवनमा मानिसका सबैभन्दा नजिकका जंगली जनावर रहेकाले मृग पालेर पर्यटन प्रवद्र्धन गर्न सकिने भन्दै आयोजकलाई त्यस्तो सुझाव दिनुभयो। ‘अहिलेको कानुनले दिँदैन, अब प्रदेश सरकारले मृग पाल्न मिल्ने कानुन निर्माण गर्नेछ,’ उहाँले भन्नुभयो ‘ग्रामीण भेगमा मृग पाल्न छुट दिइएपछि आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन हुनेछ।’ उहाँले भन्नुभयो।

उहाँले होमस्टेबाट नै देशको समृद्वि हुने बताउनु भयो। प्रदेश सरकारले बेसीशहरदेखि घलेगाउँसम्मको २४ किलोमिटर सडक आगामी १६ महिनाभित्रमा कालोपत्रे गर्ने बताउनुभयो। उहाँले गण्डकी प्रदेश सरकारले पर्यटनबाट रोजगारी सिर्जना गरी आर्थिक हासिल गर्ने भन्दै यसका लागि ४ हजारभन्दा बढी नयाँ फर्ममा सरकारले लगानी गरिरहको बताउनुभयो। घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष प्रेमबहादुर घलेले आर्थिक समृद्धि, ग्रामीण गुरुङको लोक संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्वन गर्न र घलेगाउँलाई स्मार्ट भिलेजको रूपमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताउनु भयो।

स्थानीयले २०५७ सालदेखि घलेगाउँ महोत्सव मनाउँदै आएका हुन्। पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका सचिव उमलबहादुर विकका अनुसार घलेगाउँका स्थानीयले ठूलो तडकभडक गरेर महोत्सव मनाउँदैनन्।