अमेरिका–इरान तनाव: अमेरिकी ठेगानामा इरानबाट आक्रमण हुन सक्ने आशंका


तेहरान÷वासिङ्टन, (एजेन्सी)
मध्यपूर्वस्थित अमेरिकी सुरक्षाबलको ठेगानामा हमला हुने आंशकामा अमेरिकाले एक युद्धपोत त्यस क्षेत्रमा तैनाथ गरेको छ। इरानलाई एक स्पष्ट र सीधा सन्देश दिन उक्त युद्धपोत तैनाथ गरिएको अमेरिकाले जनाएको छ।

अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले कैयौं दुःख दिने र उक्साउने खालका संकेत तथा चेनावनीको जवाफमा ट्रम्प प्रशासनले यो फैसला लिएको बताए। नाम उल्लेख नगर्ने शर्तमा एक अमेरिकी अधिकारीले मध्यपूर्वस्थित अमेरिकी बलका ठेगानामा हमला हुने आंशका बढिरेहका कारण अमेरिकाले उक्त कदम उठाएको बताए।

कुनै पनि हमलाको जवाफ पुरै जोडतोडले दिने जोन बोल्टनले बताए। बोल्टनले एक बयानमा भनेका छन्– ‘अमेरिकाको यूएसएस अब्राहम लिंकन क्यारियर स्ट्राइक ग्रुप र एक बम्बर टास्क फोर्सलाई अमेरिकाको सेन्ट्रल कमान्ड क्षेत्रमा पठाइएको छ। हामी इरानी शासनलाई एक स्पष्ट र सीधा सन्देश दिनका लागि यस्तो गरिरहेका छौं।सन्देश यो हो कि यदि अमेरिका वा उसका सहयोगीमाथि कुनै प्रकारको हमला भएमा हामी त्यसको उचित जवाफ दिन्छौं।’

‘अमेरिका इरानसँग युद्ध चाहेको छैन तर हामी कुनै पनि हमलाको जवाफ दिन पूर्णरूपमा तयार छौं, चाहे त्यो इस्लामिक रिभोलुसनरी गार्डस वा इरानी सेनाद्वारा शुरू गरेको छद्म युद्ध नै किन नहोस्’ –बोल्टनले आफ्नो बयान पूरा गर्दै भने।
यसअधि अमेरिकाले इरानको विशिष्ट रिभोलुसनरी गार्डलाई ‘विदेशी आतंकवादी संगठन’ भएको घोषणा गरेको थियो।

यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले आफ्नो युरोप यात्राका क्रममा पत्रकारहरूलाई इरानका तर्फबाट प्रष्टरूपमा उक्साउने खालका कदम देखेको र आफूहरूमाथि हुने कुनै प्रकारको हमलाका लागि उसलाई नै जिम्मेवार ठह¥याउने बताए।

यद्यपि पोम्पियोले इरानका कस्ता कदम उक्साउने खालका भए भन्ने विषयमा प्रष्ट पारेको छैन।
अमेरिकाले आफ्ना सहयोगी देशहरूलाई इरानबाट तेल नकिन्न बाध्य पार्दै इरानको अर्थव्यवस्थालाई धरासायी गर्न चाहेको छ, तर इरानले आफू कुनै पनि हालतमा नझुक्ने जनाएको छ।
अमेरिका गत वर्ष इरानसहित ६ देशबीच भएको परमाणु सन्धीबाट बाहिरिएको थियो। राष्ट्रपति ट्रम्पले उक्त सम्झौता रद्द गर्नुको कारण सन् २०१५ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाको कार्यकालमा भएको उक्त सन्धीबाट आफू खुसी नभएको बताएका थिए।

साथै अमेरिकाले यमन र सिरिया युद्धमा इरानको भूमिकाको आलोचना पनि गरेको थियो। ट्रम्प प्रशासनले नयाँ सम्झौताका लागि इरानलाई बाध्य पार्न सक्ने अपेक्षा गरेको छ। यस दायरामा इरानको परमाणु कार्यक्रम मात्र नभई ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम पनि हुनेछ।

अमेरिकाले यसबाट मध्यपूर्वमा इरानको अशिष्ट व्यवहार पनि नियन्त्रित हुने बताएको छ भने इरानले अमेरिकी प्रतिबन्धलाई गैरकानुनी बताइरहेको छ।