म्यानचेस्टर सिटीको महत्वपूर्ण जित


लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई १–० ले हराएर महŒवपूर्ण जित हात पारेको छ।
सोमबार राति आफ्नै इतिहाद स्टेडियममा भएको खेलमा कप्तान भिन्सेन्ट कोम्पनीले गरेको एकमात्र गोलले सिटी विजयी भएको हो। योसँगै टोली उपाधि रक्षा गर्नेतिर अग्रसर भएको छ। सिटीलाई उपाधि होडमा कायम राख्न कप्तान कोम्पनीले खेलको ७०औं मिनेटमा लापोर्टेलको पासमा गोल गरेका थिए।

योसँगै उपाधि होड रोमाञ्चकसमेत बनेको छ। लिगमा यस सिजनको अन्तिम चरणको खेल मात्रै बाँकी रहँदा सिटीले दोस्रो स्थानको लिभरपुलमाथि एक अंकको अग्रता बनाएको छ। अब उपाधिको छिनोफानो अन्तिम खेलबाट नै टुंगो लाग्ने भएको छ। उपाधि होडमा सिटीसँगै लिभरपुल रहेको छ।

यसले उपाधि होडलाई अझै रोमाञ्चक बनाएको छ। यस सिजन उपाधि होडमा सिटी र लिभरपुलबीच धेरै अघिदेखि नै प्रतिस्पर्धा चल्दै आएको छ। अब अन्तिम खेलमा पनि त्यो होड कायमै रहने भएको छ।

सिटी ३७ खेलबाट ९५ अंक जोडेर शीर्षस्थानमा उक्लँदा समान खेलबाट लिभरपुल ९४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। अन्तिम खेलमा ब्राइटनलाई पराजित गरेमा सिटी च्याम्पियन बन्ने निश्चित छ। लिभरपुललाई च्याम्पियन बन्न भने सिटीले अंक गुमाउनुका साथै जित निकाल्नुपर्ने हुन्छ।

अब अन्तिम लिग खेलमा सिटीले ब्राइटनसँग खेल्नेछ भने लिभरपुलले वोल्भ्ससँग खेल्नेछ। सिटीले आफ्नो खेल जितेमा मात्र पनि च्याम्पियन बन्नेछ। यदि सिटीले बराबरी र पराजयको नतिजा निकालेमा लिभरपुलले जित हात पारेमा लिभरपुल च्याम्पियन बन्नेछ। सिजनको अन्तिम चरणका सबै खेल मे १२ मा एकसाथ हुनेछन्।