इमेज लोक अवार्ड विजेतालाई सम्मान


रामेछाप, ९नेस०। इमेज च्यानलबाट प्रसारण भएको इमेज लोक कलाकार सिजन–२ का विजेता रामकुमार नेपालीलाई गृहजिल्ला रामेछापमा सम्मान गरिएको छ।
सोमबार परियार एकता समाज रामेछापको आयोजना तथा विभिन्न संघ–संस्थाको समन्वयमा बाजागाजासहित विजय ¥यालीसँगै उनलाई सम्मान गरिएको हो। २०४७ सालमा बाबु लक्ष्मण नेपाली र आमा चिना नेपालीको एक्लो छोराको रूपमा मन्थली–१ मा जन्मिएका नेपाली इमेज लोक कलाकार सिजन–२ मा प्रथम भई अवार्ड जित्न सफल भएको भन्दै मन्थली नगरपालिका, परियार एकता समाज, मन्थली मावि, रामेछाप कला साहित्य प्रतिष्ठान, सुन चाँदी कला व्यवसायी संघ, पञ्चेबाजा संरक्षण समाज र नेपाल कपडा तथा सिलाइ व्यवसायी संघले छुट्टाछुट्टै प्रशंसापत्र प्रदान गरेर सम्मान गरेका थिए।
कार्यक्रममा बोल्दै विजेता नेपालीले सबैको सहयोगका कारण आफूले यो सफलता प्राप्त गरेकाले आगामी दिनमा पनि सबै जिल्लाबासीमा यस्तै सहयोगको अपेक्षा रहेको बताए।
सानै उमेरदेखि लोक गीत–संगीतमा रुचि राख्ने नेपाली २०६६ सालमा रामेछाप लोक तारा, २०७४ सालमा मेगा एकल लोक गायनलगायतका प्रतियोगितामा प्रथम भएका थिए। उनले अहिलेसम्म ४ सयभन्दा बढी गीतमा स्वर दिएका छन्।