विद्यालयमा एक सातादेखि तालाबन्दी, पठनपाठन प्रभावित


बासुदेव शर्मा, जाजरकोट ।
जिल्लाको छेडागाड नगरपालिका ११ झाप्राको बाल माध्यमिक विद्यालयमा एक साता देखि लगाईएको ताला नखुल्दा पठनपाठन प्रभावित भएको छ । विभिन्न माग राखि अभिभावकहरुले गत बैशाख १६मा ताला लगाएका थिए । एक साता विति सक्दा पनि उनीहरुका माग पुरा गर्ने सम्बन्धमा विद्यालय प्रशासन र सरोकारवालाले ध्यान नदिदा विद्यालयको ताला खुल्न सकेको छैन । विद्यालयमा लगाएको ताला नखुल्दा पठनपाठन समेत प्रभावित भएको छ ।

आर्थिक बर्ष २०६८÷६९ देखिको आर्थिक अवस्था छानविन गरि सामाजिक परिक्षण गर्नु पर्ने, विभिन्न बाहानामा कक्षा ११ र १२ मा लिने गरिएको चर्को शुल्क खारेज गर्नुपर्ने, योग्यता पुगेका ब्यक्तिलाई प्रधानाध्यापकमा नियुक्ती गर्नुपर्ने, भवन निर्माणमा लागेका मजदुरहरुलाई तत्काल ज्याला दिनु पर्ने, विद्यालय समायोजनको नाममा गरिएका अनुचित चलखेल तत्काल बन्द गर्न माग गदै अभिभावकहरुले तालाबन्दी गरेका छन् ।

बाल माध्यामिक विद्यायलयका प्रधानाध्यापक पृथ्वी बहादुर सिंह साविकको उच्च माध्यामिक विद्यालय तर्फका अस्थायी शिक्षक हुन । स्थानियहरुले योग्यता पुगेका स्थायी शिक्षकलाई प्रधानध्यापक नियुक्त गर्न माग गरेका छन् । प्रधानध्यपक सिंहले विद्यालयमा आर्थिक अनियमितता गरेको अरोप लगाउँदै अभिभावकले तालाबन्दी गरेका हुन् ।

छेडागाड नगरपालिका १० का अमरबहादुर विटालुले शैक्षिक अवस्थाको स्तर शुन्य भएको, विद्यालयमा ब्यापक अनियमितता भएको र यसको छानविन हुन पर्ने वारम्वार माग गर्दा पनि सुनुवाई नभएपछि आफुहरु तालाबन्दी गर्न बाध्य भएको बताउनु भयो । ताला खुलाउन नगर शिक्षा शाखा र विद्यालय प्रशासनले कुनै पहल नगरेको उहाँको भनाई छ । १२ कक्षा सम्म अध्यापन हुने यस विद्यालयमा करीव ६ सय विद्यार्थी रहेका छन । शैक्षिक सत्र सुरु भैसकेपनि तालावन्दीका कारण पठनपाठन सुरु हुन नसकेको स्थानियको भनाई छ ।

तालाबन्दी गरेर समस्याको समाधान नहुने भन्दै प्रधानाध्यापक पृथी बहादुर सिंहले राजनैतिक पुर्वाग्रहीका कारण तालाबन्दी गरिएको आरोप लगाउनु भयो ।