प्रादेशिक पत्रकारिता पुरस्कारबाट एक लाखसहित चार पत्रकार पुरस्कृत


विराटनगर ।
राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा प्रादेशिक पत्रकारिता पुरस्कारबाट १ लाख नगद सहित प्रदेश १ का ४ अग्रज पत्रकार पुरस्कृत भएका छन । प्रदेश १ को स्थायी राजधानी विराटनगरमा मंगलबार एक कार्यक्रमको आयोजना गरी प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजकुमार कार्की, नकुलकाजी, हर्ष सुब्बा र चन्द्र भण्डारीलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत अग्रज पत्रकारहरुलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुन मन्त्रीले सम्मान गरेका थिए । प्रदेश सरकारको हरेक वर्ष पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउने २ जना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय अनुशार गतवर्ष र यसवर्षका गरी ४ जना पत्रकारलाई सम्मान गरिएको हो ।

सम्मानित हुने पत्रकार नहकुलकाजी र भण्डारी झापालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्ने पत्रकार हुन भने सुब्बा र कार्की सुनसरीका पत्रकार हुन ।

पत्रकार यज्ञ शर्माको छनौट समितिले सिफारिस गरेका प्रदेशभित्रका अग्रज पत्रकारहरु मध्येबाट छनौटमा परेका ४ पत्रकारलाई सम्मानित गरिएको प्रदेश आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले पत्रकारको क्षमता विकास र उन्नयनमा प्रदेश सरकार सदैव तत्पर रहेको बताए ।