लुम्बिनी भ्रमण वर्षको प्रचार गर्न मन्त्रीको टोली नेपालगञ्जमा


बाँके ।
लुम्बिनी भ्रमणवर्ष २०७६ को प्रचार प्रसारका लागि ५ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीको टोलीले बाँकेका स्थानीय सरकार प्रमुख र सरोकारवालासँग अन्तरक्रिया गरेको छ ।

पत्रकार सम्मेलनसमेत भनिएको अन्तरक्रियामा मन्त्री गिरीले लुम्बिनीको बृहत्तर विकासका लागि कपिलबस्तु र नवलपरासीलाईसमेत बौद्धमार्गीको आकर्षित गन्तब्यस्थल बनाउन लागि परेको बताए ।

नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको छ । त्यसअघि नै भगवान गौतम बुद्ध जन्मिएको लुम्बिनीलाई विश्व सामु चिनाउन र आन्तरिक पर्यटकको आकर्षणको केन्द्रविन्दु बनाउन प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाउन थालेको हो ।

मन्त्री गिरीले लुम्बिनी भ्रमण वर्ष भनिएपनि ५ नम्बर प्रदेशका सबै पर्यटकीय क्षेत्रलाई त्यससँग जोडेर अघि बढिने बताए । उनले गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा धेरै पर्यटक भित्र्याएर रामग्राम, तिलौराकोट उत्खनन्देखि हुन नसकेका कामहरु गरिने बताए ।

लुम्बिनी भ्रमण वर्षका लागि चार करोड रुपैया छुट्याइएको छ । उद्घाटनमा ७० लाख रुपैया छुट्याइएको छ । ‘नाम लुम्बिनी भ्रमण वर्ष भनिएको छ । सिंगो प्रदेशको पर्यटकीय क्षेत्रको प्रमोट गर्ने उद्देश्य राखिएको छ, मन्त्री गिरीले भने, विदेशीमात्रै होइन, आन्तरिक पर्यटकलाईसमेत आकर्षित गर्ने सोच बनाएका छौ ।’

‘बुद्ध जनस्थल लुम्बिनी जाऔं ः शान्तिको सन्देश फैलाऔं’ भन्ने मूल नाराका साथ नेपाल सरकारले सन् २०२० लाई घोषणा गरेको भिजिट नेपाललाई बल पु¥याउने, पर्यटन प्रवद्र्धनमार्फत समृद्धि हासिल गर्न टेवा पु¥याउने, यस क्षेत्रका धार्मिक, पर्यटकीय, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका स्थानहरुको पहिचान, संरक्षण, सम्वद्र्धन तथा व्यवस्थापनमा टेवा पु¥याउने, लुम्बिनी आउने पर्यटकहरुको बसाई अवधि लम्ब्याउने, लुम्बिनी क्षेत्रलाई सिद्धार्थ, कनकमुनि र क्रकुछन्द बुद्धको जन्मस्थल तथा बौद्ध दर्शन तथा शान्तिको उद्गमस्थलका रुपमा व्यापार प्रचार गर्ने, लुम्बिनीलाई केन्द्रमा राखेर प्रदेश नं. ५ का महत्वपूर्ण पर्यटकीय गन्तब्यहरुको प्रचार प्रसार र प्रवद्र्धन गर्ने उद्देश्य राखेर लुम्बिनी भ्रमण वर्ष २०७६ मनाइदैछ ।

नेपालगञ्जको महत्व घट्दैन
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले ५ नम्बर प्रदेशको राजधानी नभएपनि नेपालगञ्जको महत्व नघट्ने बताएका छन् । लुम्बिनी भ्रमण वर्ष २०७६ को कार्यक्रम भइरहदा धेरैजना बाँकेले नेपालगञ्जप्रति चिन्ता व्यक्त गरेपछि मन्त्री गिरीले नेपालगञ्ज ५ नम्बर प्रदेशको मात्रै नभएर देशकै आर्थिक केन्द्रविन्दु रहेको बताए ।

‘नेपालगञ्ज र भैरहवा बिना त यो प्रदेशको प्रगति कल्पना गर्न सकिदैन, मन्त्री गिरीले भने, नेपालगञ्ज नाकाले यो प्रदेशमात्रै नभएर मुलुकै बाँध थाप्न सक्छ ।’

मन्त्री गिरीले अहिले नेपालगञ्जवासीलाई राजधानी नभएर विकास हुँदैन कि भन्ने चिन्ता देखिएपनि कालान्तरमा बाँके र बर्दिया नहेपिने बताए ।

प्रदेश सरकारले बाँकेमा मानसरोबरको प्रतिक बनाउँदैछ । नेपालगञ्ज मानसरोबर जाने भारतीय पर्यटकको मुख्य नाका हो ।