ब्राउनसुगरसहित एमबीबीएसका दुई विद्यार्थी पक्राउ


बाँके ।
एमबीबीएसका दुई जना विद्यार्थी लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अध्ययनरत एमबीबीएस चौथो बर्षमा अध्ययरत धनगढीका निशान चन्द र तेस्रो बर्षमा अध्ययनरत भारत राजस्थानका अंकुर शर्मा ब्राउनसुगरसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँट इन्चार्ज दीपक मल्लले जानकारी दिए ।

दुवै जनाको साथबाट साढे ६ ग्राम ब्राउनसुगर बरामद भएको छ । प्रहरी निरीक्षक मल्लले दुवै जना लागुऔषध प्रयोगकर्ता रहेको बताए । पक्राउ परेका दुवैलाई अनुसन्धानका लागि प्रहरीको हिरासतमा राखिएको छ ।

सीमावर्ती भारतीय शहर रुपैडिहाबाट ब्राउनसुगर बोकेर नेपालगञ्ज आउदै गर्दा चन्द र शर्मालाई सोमबार राति जमुनाहाबाट पक्राउ परेका हुन् । यसअघि पनि मेडिकल कलेजका कर्मचारी लागु औषध ब्राउनसुगरसहित पक्राउ परेका थिए ।

सीमावर्ती शहर रुपैडिहामा सहजै पाइने लागु औषध ब्राउनसुगर, कोरेक्स खानाका लागि सरकारी कर्मचारीसमेत जाने गर्दछन् । नेपालगञ्जबाट दैनिक लागु औषध सेवन गर्न रुपैडिहा जानेको संखया धेरै रहेको छ ।