नयाँ कल्भर्ट बनाउदा घर जाने भएपछि…


बाँके ।
‘चिना हेरेर कमाएको पैसाले घर किनेको हो । चिना हेर्दाहेर्दै मेरो आँखा कमजोर भइसके । बाटो फराकिलो गर्दा घर जान्छ भने जाओस्, नालीका लागि त ठाउँ छोड्न सकिदैन, नेपालगञ्ज घरबारीटोलका पुजारी गौरीशंकर शर्माले भने, पुरानै संरचनामा नाली र कल्भर्ट बनाए भइहाल्यो नि ।’
घरबारीटोलमा पर्ने दोन्द्रा नालाको जीर्ण कल्भर्ट भत्काएर नयाँ बनाउदा पुजारी शर्माको घर र कालिका मन्दिरमा क्षति पुग्ने भएपछि नेपालगञ्जका मेयर धवलशमशेर राणाले आव्हान गरेको सर्वदलीय बैठकमा पुजारी शर्माले यस्तो भन्दै थिए ।

इन्जिनियरहरुले जीर्ण कल्भर्ट भत्काएर नयाँ बनाउनै पर्ने, नालाको मापदण्ड पनि साढे ५ मिटर रहेकोमा त्यहाँनिर साढे चार मिटर रहेको जानकारी दिएपछि मेयर राणाले पुजारी शर्मालाई एक मिटर जग्गा दिन आग्रह गरेका थिए । ‘एक मिटर नाला बढाउन ठाउँ दिनुस् न गुरुजी, तपाईकै कारणले नालाको मापदण्ड बिगार्न पनि भएन नि, मेयर राणाले भने, पुरानै संरचनामा नाला बनाउदा पानीको बहाव थेग्न सक्दैन । त्यसैपनि तपाईको घरमा त्यसले असर पार्छ ।’

पुजारी शर्माले आजसम्म त्यही पुरानै नालीबाट पानी बग्दा घरलाई कुनै असर नपरेको र अब कसरी असर पर्छ भन्ने प्रश्न गरे । उनले भने, त्यहाँनिर साढे चार मिटरको नाला हुँदा नेपालगञ्ज डुब्छ भने त्यसको जिम्मेवार म हुन्छु ।’

घरबारीटोल निवासी प्रदेश सांसद सुरेन्द्र हमालले पनि पुरानै संरचनामा नाला बनाउदा फरक नपर्ने धारणा राखे । अरु नेताहरुले भने मापदण्ड अनुसार नै नाला बनाउनु पर्ने अडान दोहो¥याए ।

धेरैबेरको रस्साकस्सीपछि मापदण्ड अनुसार नै नाला बनाउने, त्यसक्रममा दायाबायाको संरचनालाई कम क्षति पुग्ने गरी काम गर्ने, कथम्कदाचित घर भत्किएमा घरधनी नै जिम्मेवार हुने र दिवालमाथि संरचना बनाउन दिने निर्णय गरिएको छ ।

नाला बिस्तार र कल्भर्टका विषयमा आव्हान गरेको बैठकमा घरबारीटोल सडक बिस्तार गर्दा मनोमानी तरिकाले बिस्तार गरिरहेको चर्चा भएको थियो । घरबारीटोलको सडक साढे ८ मिटर बनाउने सहमति भइसकेको छ । वडाका जनप्रतिनिधिहरु आफू नदेखिने र प्राविधिकले जहाँ पायो त्यहीबाट बिस्तारका लागि चिन्ह लगाउने काम गरिरहेको धेरैले टिप्पणी गरे ।

‘सडकको बीचबाट दुवैतिर गरी साढे आठ मिटर नाप्नु प¥यो । सहमति त्यही भएको हो । तर, प्राविधिक भएर मन लागेको ठाउँबाट नापेर आतंक मच्चाएका छन्, स्थानीय सञ्जयराज सिंहले भने, नियम, कानून सबैलाई बराबरी हुनुपर्छ । कतै एउटा त कतै अर्को गर्न पाइदैन ।’

घरबारीटोलमा काम गरिरहेका प्राविधिकले एकएक सेन्टिमिटरमा झगडा गरेर काम गर्न अप्ठेरो पार्ने काम भइरहेको मेयर राणालाई अवगत गराएका छन् ।