जनमुक्ति पार्टीले भ्रष्टाचारविरुद्ध अभियान चलाउने


काठमाडौं ।
भ्रष्टाचार अन्त्यका लागि कडा संवैधानिक व्यवस्थाको माग गर्दै आएको राष्ट्रिय जनमुक्ति पार्टीले देशमा बढ्दो ‘भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान’ सञ्चालन गर्ने भएको छ ।

जिल्ला तथा प्रदेश स्तरमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने क्रममा पार्टी नेताहरुलाई कार्यकर्ता र जनताले भ्रष्टाचारविरुद्ध देशव्यापी रुपमा आन्दोलन उठाउनका लागि तयार रहन भनेपछि जनमुक्ति पार्टीले यो अभियान चलाउन लागेको उपमहासचिव मेखराज परियारले जनाउनुभयो । २७ गतेदेखि बस्ने कार्य सम्पादन समितिको बैठकले पार्टीद्वारा सञ्चालन गरिने अभियानलाई अन्तिम रुप दिई घोषणा गर्ने बताईएको छ ।

यसैबीच केही दिनअघि नयाँ शक्ति पार्टी नेपाल, संघीय समाजबादी फोरम नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीबीच पार्टी एकता हुने भनी आएको समाचार असत्य र भ्रामक रहेको सचिवालयले प्रष्ट पारेको छ । फोरम नेपाल र नयाँ शक्तिबीच सोमबार पार्टी एकता भएको छ । पार्टी केन्द्रीय सचिवालयका अनुसार राष्ट्रिय परिस्थिति र समस्याबारे विभिन्न दलहरुसँग पार्टीको शिर्ष तहले अनौपचारिक भेटघाट र छलफल गरिरहेको छ ।

निश्चित मुद्दा मिल्ने पार्टीबीच सहकार्यको सम्भावना रहेको पार्टीले जनाएको छ । तर पार्टी एकताबारे प्रकिया अगाडि बढेको भन्ने चाहिं सरासर गलत समाचार भएको जनमुक्ति पार्टीले जनाएको हो । जनमुक्ति पार्टीको नाम लिएर कसैले अरु पार्टीसँग एकता गर्छु भन्छ भने त्यो भ्रममात्र भएको पार्टीले प्रष्ट पारेको छ । जनमुक्तिको चुनाव चिन्ह घर रहेको छ ।