बडीकेदारको ४ नम्बर वडा कार्यालय, किन जलाईयो र जलाउने को ?


विमल विष्ट, डोटी ।
डोटी जिल्लाको बडीकेदार गाउँपालिका वडान.४ मान्नाकापडीको वडा कार्यालय सोमवार राती जलाईएको छ । प्रहरी तथा स्थानियले उक्त वडा कार्यालय अज्ञात समूहले जलायो भनेर जानकारी दिएको छ । आखिर कस्ले र किन वडा कार्यालय र कागजात जलायो यो विषय निकै गम्भिर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरिक्षक बिद्यानन्द माझीले दिनु भएको जानकारी अनुसार सोमवार राती करिब २.३० बजेतिर अज्ञात समूहले उक्त वडा कार्यालयमा आगजनी गरेको हो । आगजनीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजातहरु पूर्ण रुपमा जलेर नष्ट भएको वडान.४ का वडाअध्यक्ष वीरेन्द्रबहादुर कोटकेनीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वडा कार्यालयको ढोका तोडफोड गरेर भित्र छिरी सामाग्रीहरु एक ठाउँमा जम्मा गरेर आगो लगाए र सबै सामान नष्ट गरेका छन् ।” रातिको समयमा आगो लगाईएको भएपनि मंगलवार बिहान मात्र प्रहरीलाई जानकारी भएपछी ईलाका प्रहरी कार्यालय बिपीनगरबाट प्रहरी निरीक्षक भरत चौधरीको नेतृत्वमा घटना स्थलमा प्रहरी टोली खटाईएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रबक्ता तथा प्रहरी नायव उपरिक्षक लालबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “घटना बारे थाहा पाउने बितिक्कै प्रहरी टोली खटाएका छौँ,कस्ले किन आगजनी गरेको हो अनुसन्धान पछि थाहा हुनेछ ।”

आगो कसले लगायो, किन लगायो भन्ने विषयमा अहिले सम्म केही पत्ता नलागे पनि केही महिना पहिले नेत्र बिक्रम चन्द ‘बिप्लब’ ले नेतृत्वगरेको नेकपा माओबादीका कार्यकर्ताले सो वडाकार्यालय नजिक सुनालेकमा रहेको अस्थायी प्रहरी चौकी नहटाए केही न केही कार्वाहि गर्ने धम्कि दिएका कारण उनिहरुले नै आगो लगाएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । नेत्र बिक्रम चन्द ‘बिप्लब’ले नेतृत्व गरेको नेकपा माओबादीका नेता प्रकाश थापाले आफनो पार्टिले उक्त वडा कार्यालय नजलाएको बताउनुभयो ।

उहाँले फोनमा भन्नुभयो, “वडा कार्यालय जल्यो भन्ने सुनेको छु तर कस्ले जलायो हामीलाई नी थाहा भएन ।” यदी नेत्र बिक्रम चन्द ‘बिप्लब’ ले नेतृत्वगरेको नेकपा माओबादीका कार्यकर्ताले उक्त वडा कार्यालय नजलाएको हो भने जलायो कस्ले त यो विषयमा डोटीमा निकै टिकाटिप्पणी सुरु भएको छ । जिल्लामा शान्ति शुरक्षाको बलियो अवस्था सृजना गरेकाछौँ भनेर दाबी गर्दै आएका प्रहरी प्रशासनलाई यहाँका स्थानियले वडाकार्यालय जलाउनेको यथासक्के पत्ता लगाउनु पर्ने माग गरेका छन् ।

किन कस्ले र केका लागि उक्त वडा कार्यालय जलायो उक्त विषयमा जनप्रतिनिधी, वडा कार्यालयका कर्मचारी र स्थानियबासी सहित राखेर प्रहरीले गम्भिर तथा शुक्ष्म रुपमा अनुसान्धान थाल्नु पर्ने स्थानियको माग रहेको छ । असार मसान्त आउने बेलामा वडा कार्यालयका कागजात एकाएक राती जलाईएपछि त्यहाँका स्थानियले उक्त घटना निकै चासोका रुपमा हेरीरहेका छन् । घटना घटी सकेपछि अब प्रहरीले कुन तरीकाले अनुसन्धान गर्छ त्यो भने हेर्न बाँकी छ ।