क्रिमसन अस्पतालमा डबल चेम्बर पेसमेकर सेवाको परीक्षण सफल


यमलाल भुसाल, बुटवल ।
रुपन्देहीको तिलोत्तमा–५, मणिग्राम स्थित क्रिमसन अस्पतालमा डबल चेम्बर पेसमेकरको सफल प्रत्यारोपण गरिएको छ । अस्पतालमा पहिलो पटक तिलोत्तमाका माकर गुप्ताको मुटुमा डबल चेम्बर पेसमेकर प्रत्यारोपण गरिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लक्ष्मण दुवेले जानकारी दिनुभयो ।

बिरामीलाई छाती दुख्ने, स्यास्या हुने, चक्कर लाग्ने लगायतका समस्या देखिएका थिए । मुटुको इसिजीमा धड्कन कमजोर भएको पाइएपछि एन्जियोग्राफी गरिएकोमा तत्काल क्रोनरी नसाको शल्यक्रिया गर्नु नपर्ने देखिएकोमा पेसमेकर प्रत्यारोपण गरिएको हो ।

अस्पतालले धेरै मुटु रोगीमा सिङ्गल चेम्बर पेसमेकर प्रत्यारोपण गरे पनि डबल चेम्बर पेसमेकर पहिलो पटक प्रत्यारोपण गरिएको जनाएको छ । डा. दुवेकाअनुसार तुलनात्मक रुपमा केही खर्चिलो भए पनि दीर्घकालिन फाइदाका कारण बिरामीहरुलाई सिङ्गल भन्दा डबल चेम्बर पेसमेकर राख्न सल्लाह दिनु भयो । डा. दुवे नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मी सम्मिलित टोलीले दुई घण्टामा पेसमेकर प्रत्यारोपण गरेको हो ।

चिकित्सकका अनुसार डबल पेसमेकरमा मुटुको दुवै कोठालाई तार राखेर ब्याट्रीबाट चलाइन्छ । ‘यस्ले बिरामीलाई दीर्घकालीन रुपमा राम्रो गर्छ ।’ डा. दुवेले भन्नुभयो ।