बुटवलमा भूकम्पमापन उपकरण जडान


यमलाल भुसाल, बुटवल ।
प्रदेश पाँचको अस्थायी राजधानी बुटवलमा भूकम्पमापन यन्त्र जडान गरिएको छ ।
विद्यालय भूकम्प शिक्षा कार्यक्रमअन्तर्गत बुटवलको न्यू होराइजन बोर्डिङ स्कुलमा भूकम्पमापन गर्ने उपकरण सिस्मोमिटर जडान गरिएको हो ।

स्विजरल्याण्डको लुजान विश्व विद्यालय र विद्यालय भूकम्प शिक्षा कार्यक्रम मार्फत मुलुकभरका २२ वटा विद्यालयमा यस्तो यन्त्र जडान गर्न शुरु गरिएको बताईएको छ । सिस्मोमिटर विद्यालयलाई निःशुल्क उपलब्ध गराएका हो ।
सिस्मोमिटरले एक म्याग्निच्युटको भूकम्प ४० किलोमिटर आसपाससम्म, ४ म्याग्निच्युटको नेपालभर र ८ म्याग्निच्युटसम्मको भूकम्प विश्वभरको मापन गर्न सक्छ ।

यो उपकरणले दिने जानकारी मोबाइल एप्लिकेसनमार्फत पनि हेर्न सकिन्छ ।
सिस्मोमिटर जडान उद्घघाटन गर्दै स्वीजरलयाण्डमा भूकम्प विज्ञानमा विद्यावारिधि अध्ययन गद गर्नु भएका वैज्ञानिक एवं विद्यालयमा भूकम्प शिक्षा कार्यक्रमका अध्यक्ष शिव सुवेदीले अबको भूकम्प पश्चिम नेपालमा जुनसुकै बेला आउन सक्ने र ०७२ भन्दा अझ बढी शक्तिशाली आउने बताउनु भयो ।

भूकम्पमापन उपकरण जडान गरिएको न्यू होराइजनका प्राचार्य लोकनाथ उपाध्यायले भूकम्पमापन यन्त्रको जानकारीबारे बुझाउन ४ जना शिक्षक–शिक्षिकालाई तालिम दिइएको बताउनुभयो ।