दुई सय किलो मरिचसहित दुईजना पक्राउ


कृष्णउदास खनाल, वीरगन्ज ।
पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–२५, सिर्सिया पुल नजिकैबाट २ सय किलो कालो मरिचसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । मरिच ओसारपसारमा संलग्नरहेको भन्दै भारत रक्सौलका २८ वर्षीय दीपेन्द्र मण्डल र वीरगन्ज महानगरपालिका–२२ का ३६ वर्षीय विनोदप्रसाद पटेललाई प्रहरीले पक्रेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले नेपालबाट भारततर्फ मरिच निकासी गर्दै गरेको अवस्थामा २ जनालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । प्रहरीले मरिच ओसारपसारमा प्रयोग गरिएका तीन मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

बीआर २२ आर ४६४५, बीआर ०५ एफ ९१७३ र ना.५० प. ६७२३ नम्बरको ३ थान मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी नायव उपरीक्षक राईका अनुसार, प्रहरीले २ सय किलोग्राम मरिच आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।

भियतनाम लगायत तेस्रो मुलुकबाट नेपालमा भित्रिने मसलामा प्रयोग हुने मरिच नेपालबाट भारतर्फ चोरी निकासी हुने गरेको छ । मरिचको भाउ नेपालमा भन्दा भारतमा बढी छ ।

यसरी नै पर्सा प्रहरीले वीरगन्जबाट विभिन्न मितिमा बरामद ४ सय ५० किलोग्राम केराउ प्रहरीले भन्सार पठाएको छ । गैरकानुनी तवरले नेपालबाट भारततर्फ ओसारपसार कार्य नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले विभिन्न स्थान र समयमा बरामद गरेको केराउ प्रहरीले भन्सारलाई बुझाएको हो ।