‘मेरो सरकार’ शब्द जानी जानी राखिएको प्रमको स्पष्टिकरण


काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भन्ने शब्द जानी जानी नै राखिएको स्पष्टीकरण दिनुभएको छ । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई अनावश्यक विवादमा नल्याउन आग्रह गर्दै सो शब्द जानी जानी नै राखिएको र सो शब्द आवश्यक पनि रहेको बताउनुभयो ।

ओलीले यससलाई अन्तर्राष्ट्रिय अभ्यास भएको पनि दाबी गर्नुभएको छ । छिमेकी देश भारतको उदाहरण दिदै प्रधानमन्त्री ओलीले वर्तमान राष्ट्रपति रामनाथ कोविन्द मात्रै होइन, यसअघिका राष्ट्रपतिहरुले पनि ‘माई गभर्नेन्स’ भन्ने गरेको बताउनुभयो ।

ओलीले भन्नुभयो, ‘राष्ट्रपति कुनै व्यक्ति नभई संस्था हो । भोलि अरु कुनै दलको सरकार भएपनि राष्ट्रपतिले मेरो सरकार नै भन्नुपर्ने छ ।’’

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई समेत वर्तमान सरकारलाई आफ्नै सरकारका रुपमा बुझ्न ओलीले आग्रह गर्नुभयो ।