गंगालाल अस्पतालको लापरबाही, रक्त समूह फरक पर्दा बालिकाको ज्यान गयो

0
Shares

भगवती तिमल्सिना, काठमाडौं
मुटुको भल्ब फेर्ने क्रममा एक बालिकाको ज्यान गएको छ । बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको भल्ब फेर्न शल्यक्रिया गरिएकी एक बालिकालाई रगत दिने क्रममा उनको रगतसँग म्याच नहुने फरक समूहको रगत पर्दा उनको ज्यानै गएको हो ।

उक्त अस्पतालमा उपचाररत सर्लाही सिसौटियाकी आकृति कुमारीको रगत समूह ओ पोजेटिभ भए पनि अस्पतालमा ए पोजेटिभ रगत दिएपछि ज्यान गएको मृतकका हजुरबुबा श्याम शाहले जानकारी गराउनुभयो । नातिनीलाई गलत समूहको रगत दिएपछि मिर्गौलालगायतका अंगमा मुख्य समस्या भएको थियो । अस्पतालले सोमबार बिहान ४ बजे मृत्यु भएको घोषणा गरेको उहाँले बताउनुभयोे ।

बिरामीलाई फरक रगत चढाएर मृत्यु भएको कुरा अस्पताल प्रशासनले स्वीकारेको छ । बालिकाको मृत्यु पछि अस्पताल प्रशासनले तत्काल बैठक राखी उपचारमा संलग्न चिकित्सकका साथै रगत उपलब्ध गराउने ल्याबका कर्मचारी र पिडित पक्ष बसेर छलफल गरी छानविन समिति गठन गरेको अस्पताल प्रशासनले जनाएको छ । ३ दिनभित्र छानविनको रिपोर्ट सार्वजनिक गर्ने सहमति भएको पीडित पक्षले जनाएको छ ।

अस्पताल प्रशासन प्रमुख गलत रगत चढाइएको विषयमा छानबिन टोली गठन गरेको र ‘बास्तवमा घटना हेलचक्र्याईले नै भएको रहेछ भने दोषीमाथि कारवाही गरिने अस्पतालका निर्देशक डा.ज्योतेन्द्र श्रेष्ठले जानकारी गराउनुभयो ।

बालिकाको मुटुको भल्ब फेर्नका लागि यहि बैशाख १३ गते अस्पताल भर्ना गरिएको र १७ गते शल्यक्रिया भएको थियो । शल्यक्रियालगतै गंगालालकै ल्याबबाट रगत ल्याएर चढाउँदा गलत भएको परिवारको आरोप छ । आफन्तहरुले अनाहकमा आफ्नो ५ बर्षिय सन्तानको ज्यान लिने ल्याबको मान्छे हो या डाक्टर छानविन गरेर कडाभन्दा कडा कारवाही होस भन्दै दिनभरि अस्पताल परिसरमा नाराबाजी गरेका थिए ।

फरक समूहको रगत चढाइएपछि उनको क्रियटिनन बढेर ४ दशमलव १ एमजिडिएल पुगेको थियो । शल्यक्रियाअघि क्रियटिनिन शून्य दशमलव ३ एमजिडिएल रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

ब्लड ग्रुप शरीरमा फरक भएपछि छिटो रियाक्सन भई मिर्गौलाले काम गर्न छाडेर जटिलता उत्पन्न भई बिरामीको मृत्यु समेत हुने चिकित्सकहरुले जनाएका छन् । मृतक आफन्तहरुले अस्पतालको लापरवाहिका कारण बालिकाको ज्यान गएकाले छानविन गरि सत्य तथ्या बाहिर नल्याए सम्म लास नबुझ्ने जनाएका छन् ।

आफन्तले पिडितलाई क्षतिपूर्ति र दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गरेका छन् । दिनभरि अस्पताल परिसरमा सुरक्षा निकाय र आफन्त तथा संचारकर्मीहरुको भिड थियोे । ल्याबबाट ब्लड पठाउँदा नै गल्ती भएको हो कि भन्ने आशंका छानविनका क्रममा उठेको छ ।