पाँच करोड भ्रष्टाचार अभियोगमा लेखापालविरुद्ध मुद्दा दायर

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल सुरेश अधिकारीविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले अधिकारीलाई ५ करोड १० लाख ३३ हजार ६ सय २३ रुपियाँबराबरको भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको होे ।

पदीय मर्यादाविपरीत कार्य गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरिरहेको अनुसन्धानबाट खुल्न आएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार लेखापाल अधिकारीको आयव्यय तथा सिर्जित सम्पत्ति उपर विश्लेषण गरी हेर्दा निजले तलबभत्ता, प्रोत्साहन भत्ता, जग्गा बिक्री, नगद अंश भर्पाई, कर्जालगायतबाट जम्मा ८८ लाख ३४ हजार ८८५ आय आर्जन गरेको देखिन्छ ।

अधिकारीले आफू र आफ्ना आफन्तको नाममा खरीद गरी राखेको एवं लगानी गरेको चल÷अचल सम्पत्ति जग्गा खरीद, घर निर्माण, सवारी साधन खरीद, लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थामा मौज्दात लगायतमा ५ करोड ९८ लाख ६८ हजार ५ सय ८ खर्च तथा लगानी गरेको पाइएको छ । त्यसमा ५ करोड १० लाख ३३ हजार ६ सय २३ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको छ ।

आयोगको अनुसन्धानमा सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएकाले वैध आयको तुलनामा स्रोत खुल्न नसकेको सम्पत्ति बढी रहेको पाइएको छ । आयोगले अधिकारीका श्रीमती र मामा नाताका बलराम शर्मासमेतलाई प्रतिवादी कायम गरी आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता कोइरालले जानकारी दिनुभयो ।

यस्तै आयोगले सोमबारै रुपन्देही जिल्लाको समयमाई प्राथमिक विद्यालय (हाल माध्यमिक विद्यालय) टिकुलीगढमा कार्यरत शिक्षक रामप्रसाद पौडेलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा मुद्दा दायर गरेको छ । पौडेलले हाइस्कुल (एस.एल.सी. सरह) को शैक्षिक योग्यताको प्रमाणपत्र भारतबाट खरिद गरी ल्याई स्थायी शिक्षक नियुक्त भएको खुल्न आएको प्रवक्ता कोइरालाले बताउनुभयो ।