सेती अञ्चल अस्पतालमा पानीको हाहाकार

0
Shares

हेमन्त पौडेल, कैलाली
सुदूरपश्चिम प्रदेशको प्रादेशिक अस्पतालका रुपमा रहेको धनगढीस्थित सेती अञ्चल अस्पतालमा पानी हाहाकार भएको छ । गर्मी मौसम सुरु भएसँगै अस्पतालमा रहेको खानेपानी योजना सुक्न थालेपछि अस्पतालमा पानी हाहाकार भएको हो । पानी हाहाकार भएपछि बिरामी र कुरुवा त्यहाँ कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मी मारमा परेका छन् ।

छ वर्षअघि झन्डै ६५ लाख रुपैयाँ लगानीमा निर्मा गरिएको खानेपानी आयोजनामा अहिले सानो पानी मात्रै बग्छ । पानै नै अभाव भएपछि अस्पतालको सेवासमेत प्रभावित भएको छ । ‘पाँच दिनदेखि अस्पतालमा उपचारको क्रममा छु,’ कैलालीको मसुरियाका मानबहादुर तारामी मगरले भन्नुभयो, ‘दैनिक बाहिरबाट एक बोतलमा पानी लिएर शौचालय जानुपर्छ, अहिलेसम्म शौचालयमा पानी देख्न पाइएको छैन ।’ उहाँले एक बोतल पानी पनि शौचालय जान प्रयाप्त नहुने बताउनुभयो ।

पानी अभाव भएपछि अस्पतालका शौचालयहरु दुर्गन्धीत बनेका छन् । दुर्गन्धीत शौचालयमा विरामीका लागि एक बोतल पानी हात धुनसमेत पुग्दैन । ‘अस्पतालमा यत्रो आर्टिनज बनाएको छ तर पानी कहाँ बाँडेको छ थाहा छैन,’ अस्पतालमा पानी अभावको कारणबारे थाहा नपाउनुभएका धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरका साबु रानाले भन्नुभयो, ‘अस्पताल भित्र एक थोपा पनि पानी छैन ।’ उहाँले पानी नभएपछि बाहिर लाइन लागेर बोतलमा पानी भर्ने वा बाहिरबाट किनेर लैजानुको विकल्प नभएको गुनासो गर्नुभयो ।

पानी अभावले गर्दा अस्पतालमै रोगको संक्रमण फैलिने जोखिम बढेको छ । अस्पतालका विभिन्न शौचालयमा जडान गरिएका धारा सुक्का छन् । नेपाल खानेपानी संस्थान धनगढी शाखाले दिएको पानीले विहान सरसफाई गर्न पनि पुग्दैन । राति टं्याकीमा भरिएको दुई÷तीन फिट पानी पनि विहानतिर अस्पतालको सफाई गर्न पुग्दैन । विहानपख अस्पतालका सहयोगीहरुले तलबाट पानी बोकेर नै माथिल्ला तलाहरुमा जसोतसो शौचालय र वार्डहरु सफाई गर्दै आएका छन् । ‘एक महिनादेखि अस्पतालमा पानी आएको छैन,’ अस्पतालमा सरसफाईको काम गर्ने पार्वती मगरले गुनासो गर्दै भन्नुभयो, ‘ जसरी पनि सफा गर्नुपर्छ भन्छन्, तलबाट पानी बोकेर नै पोछा लगाउनेदेखि सौचालय सफा गर्नुपर्छ ।’

बोतलमा पानी लिएर शौचालय जानुपर्ने बाध्यता

अस्पतालमा पानी अभाव भएपछि मिर्गौलाका बिरामी पनि प्रभावित भएका छन् । डायलासिस सेवाका लागि धेरै पानी आवश्यक हुने भएकाले समस्या परेको छ । सेती अञ्चल अस्पतालले २०६८ सालमा अस्पताल परिसरभित्रै ट्युबवेल गाडेर समरसेल पम्प जडान गरी एक लाख लिटरको ओभरहेड ट्यांकी पनि बनाएपनि त्यो सफल हुन सकेन । टुबेल सुकेपछि अहिले खानेपानीले दिएको पानी पनि अस्पचाललाई पुग्दैन । २ सय ५० शड्ढयामा सञ्चालनमा रहेको अस्पतालमा पानी अभाव हुँदा हाहाकार भएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्छ डाक्टर हेमराज पाण्डेले मन्त्रालयले नै खानेपानी आयोजनाका लागि ठूलो बजेट दिनुपर्ने बताउनुभयो । उहाँले अस्पताल परिसरमा निकालिएका हाते पम्पले पनि काम नर्दा झन समस्या उत्पन्न भएको बताउनुभयो ।

दुई वर्ष अघि पनि गर्मीयाममा बोरिङ सुकेपछि अस्पतालले तीन चारवटा हाते पम्प गाडेको थियो । जसले केही हदसम्म पानीको समस्या कम गरेको थियो । तर, अहिले ती सबै सुकेका छन् । मेडिकल सुपरिन्डेन्डेन्ट डाक्टर पाण्डेले अस्पताल परिसरमा जमिनमूनिबाट पानी नै नरहेकाले नै नल्का सुकेको हुन सक्ने बताउनुभयो । सुदूरपश्चिम प्रदेशका झण्डै ३० लाख जनताको स्वास्थ्यसंग जोडिएको सेती अञ्चल अस्पतालमा पानी अभाव हुँदा पनि अहिले सम्बन्धीत निकायको रुपमा रहेको सामाजिक विकास मन्त्रालयले यसबारे खासै पहल गरेको छैन । अञ्चल अस्पताल प्रदेश मातहतमा आएपछि अस्पालको व्यवस्थापन झन खस्केको सुदूरपश्चिम प्रदेशबासीको आरोप छ ।