बेंसीसहरमा खानेपानी अभाव

0
Shares

नेपाल समाचारपत्र, लमजुङ
जिल्ला सदरमुकाम बेसीशहरमा खानेपानीको समस्या सिर्जिएको छ तर नगरवासीलाई खानेपानी खुवाउनका लागि निर्माण गरिएको योजना निर्माणमा भने ढिलाई भइरहेकोमा उपभोक्ताले गुनासो गर्न थालेका छन् ।

पानीको मुल सुक्दै गएपछि साँझ विहान नै वितरण गर्ने गरिएको खानेपानी दिनमा एक पटकमात्र गत फागुन १६ गतेबाट वितरण गर्न थालिएको बेसीशहर नगरपालिका– ८ की गृहिणी सुधा ढकालले बताउनु भयो । उहाँले भन्नुभयो ‘खानेपानी समितिले दिने पानीले खान पाकाउन, खान, भाडा धुन ठिक्क हुन्छ । नहाई धुवाईको काम गर्न छ मजुवा खोलामा जाने गरेकाछौं ।’

चालु आर्थिक वर्ष २०७५÷७६ को असार मसान्तसम्म निर्माण कार्य सम्पन्न हुने भनिएको भाचोक खोला खानेपानी आयोजनाको काम अहिलेसम्म ६५ प्रतिशत मात्र सकिएको बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्णलाल प्रधानले बताउनु भयो । उहाँका अनुसार बेसीशहर सहलगानी खानेपानी तथा सरसफाइ (भाचोक खोला खानेपानी) आयोजनाको निर्माणमा ढिलाइ भएको छ । ‘आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि हिउँद बर्षा दुवै सिजनमा पानीको समस्या हुने छैन’ उपभोक्ता समितिका अध्यक्ष प्रधानले भन्नुभयो ।

उहाँका अनुसार खानेपानी आयोजना निर्माणको काममा ढिलाई हुनुमा निर्माणको ठेक्का पाएको महादेव खिम्ति पराजुुुली जेभीका कारणले हो । यसमा हाम्रो तर्फबाट कुनै कमजोरी वा ढिलाइ भएको छैन’ प्रधान बताउनु हुन्छ । अध्यक्ष प्रधानले भन्नुभयो ‘०७४ साउनबाट शुरु गरिएको आयोजना ०७६ को असार मसान्तमा सम्पन्न गर्नुपर्ने गरी ठेकेदार कम्पनी महादेव खिम्ती पराजुली जेभीले सम्झौता गरेका हौं ।’

कुल २८ करोड लागतमा निर्माणधिन खानेपानी आयोजना वेसिशहरबाट भाचोक खोला उखुवारीसम्मको दुरी जम्मा ६ किलोमिटर रहेको छ । हालसम्म गरिएको निर्माणको काममा आयोजनाको इन्टेकको काम सम्पन्न भएको र पानी प्रशोधन केन्द्रको काम ६५ प्रतिशत सम्पन्न भएको छ ।

यसबारेमा उक्त खानेपानी आयोजनाको निर्माण कम्पनीसँग सम्पर्क गर्दा निर्माण जिम्मा लिएको महादेव खिम्ति पराजुली जेभीका ठेकेदार सतिस पराजुलीले खानेपानी आयोजना निमार्णमा ढिलाई भएको स्वीकार गर्नु भएको छ । उहाँका अनुसार रिभर क्रसिङ डिजाइन परिवर्तन, आयोजना सम्झौतामा ढिलाइ, जग्गा खरिदमा ढिलाई, मस्र्याङ्दी नदीको पुल निर्माणमा ढिलाई, लगायतका कारणले आयोजनाको सामान ढुवानीमा समस्या भएकाले आयोजना निमार्णमा ढिलाइ भएको हो ।

यसैगरी, आठ लाख लिटरको दुई वटा पोखरी मध्ये ३ लाख लिटरको पानी पोखरीको निमार्ण सम्पन्न भएको छ । अर्को पाँच लाख लिटरको पोखरीको निमार्ण कार्य अन्तिम चरणमा रहेको पराजुलीको भनाई छ ।

यसैगरी, आयोजनाको मुख्य खानेपानीको लाइन जडान कार्य तथा वेसीशहरमा शाखा लाइन विस्तारको काम भइरहेको वेसिशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सवइन्जिनियर त्रिलोचन पौडेलले बताए । प्रति सेकेण्ड २५ लिटर रहेको भाचोक खोला खानेपानी आयोजना सम्पन्न भए पछि वेसीशहरवासीलाई २० वर्षसम्मका लागि खानेपानीको कुनै समस्या नहुने वेसीशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्य चन्द्रकान्त पौडेलले बताउनु भयो । उहाँका अनुसार निर्माणधिन आयोजना सरकारको ७० प्रतिशत र स्थानीय उपभोक्ताको ३० प्रतिशत लगानीमा उक्त खानेपानी आयोजना निर्माण हुने भएको हो ।

बेसीशहरमा हाल महभीर खोला, ढुडखोला, लब्ले खोला, फुर्केभीर, ढाडखोला, पुवा खोला, सप्लीङ, ठूलोपँधेरो डिप बोरिङबाट गरी प्रतिसेकेण्ड २८ लिटर खानेपानी उपलव्ध हँुदै आएको छ । बेसीशहरको कुल जनसंख्या ४० हजार रहेको छ ।