सातदिने निःशुल्क योग शिविर

0
Shares

नेपाल समाचारपत्र, लमजुङ
लमजुङमा पाँचदिने शिविर सञ्चालन गरिएको छ । जिल्ला सदरमुकाम बेसीशहरमा पतञ्जली योग समिति लमजुङको आयोजनामा निःशुल्क योग विज्ञान शिविर गरिएको हो ।

पतञ्जली योग पीठ नेपाल, महिला पतञ्जली योग समिति नेपाल र बेसीशहर नगरपालिका–८ को सहयोगमा सञ्चालन गरिएको योग शिविरमा बेसीशहरबासी ४९ जनाले भाग लिएको आयोजक समितिका अध्यक्ष अंगराज घिमिरेले बताउनु भयो ।

उहाँका अनुसार शिविरमा महिला पतञ्जली योग समितिका केन्द्रीय अध्यक्ष अर्चना घिमिरेले सहभागीहरूलाई योग र प्राणायमको महत्व बारेमा प्रकाश पार्दै योग सिकाउनु भएको थियो । उहाँले मानिस निरोगी हुनका लागि नियमित योग गर्नुपर्नेमा जोड दिुन भयो । यसैगरी, शिविरमा पतञ्जली योग समिति कास्कीका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेश समितिका सल्लाहकार क्या. इन्द्रबहादुर गुरूङले पनि प्रशिक्षण दिनु भएको थियो ।

उक्त शिविरको समापनका अवसरमा अंगराज घिमिरेको अध्यक्षतामा पुनर्गठन गरिएको छ । पुनगठित समितिले आगामी दिनमा बेसीशहरमा नियमित योगको कक्षा सञ्चालन गर्ने भएको अध्यक्ष घिमिरेले बताउनु भयो । उहाँका अनुसार बेसीशहरको प्रकृति नारी समाज, फुलबारी आमा समूह र मनाङे चौतारा आमा समूहको भवनमा नियमित रूपमा योग साधना सञ्चालन गर्ने निर्णय भएको छ ।

यसैगरी, मध्यनेपाल नगरपालिका– ६, भोर्लेटारको आयोजना र ईशानेश्वर माध्यमिक विद्यालयको सहआयोजनामा भोर्लेटारमा पनि बृहत निःशुल्क पतञ्जली योग विज्ञान शिविरको सञ्चालन गरिएको छ ।

मध्यनेपाल नगरपालिकाका नगरप्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि रमेशकुमार पाण्डेले उक्त शिविरको उद्घाटन गर्नु भएको हो ।

पतञ्जली योग शिविर भक्तपुरका योग प्रशिक्षक एवम् ईशानेश्वर माध्यमिक विद्यालयका पूर्वशिक्षक जीवन सिजापति र भाग्यशाली घिमिरेको प्रशिक्षणमा शिविर सञ्चालन भइरहेको आयोजक समितिका संयोजक एवम् वडानं ६ का अध्यक्ष विष्णुभक्त पौडेलले बताउनु भयो । उहाँका अनुसार शिविरमा १७ जना महिलासहित ४२ जनाले भाग लिएका छन् । दैनिक साढे दुई घण्टा सञ्चालन भइरहेको सप्ताहव्यापी उक्त शिविर बैशाख २८ गते समापन हुने पौडेलले जानकारी दिनु भयो ।