मानसिक रोगीको उद्धार

0
Shares

डोटी, (नेस)
जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ कुल्पातेमा बेवारिसे अवस्थामा सडकपेटीमा फेला परेकी आफनो नाम छाँयासिंह बोगटी बताउने करिब ४४ वर्षीया एक मानसिक रोगी महिलाको डोटी प्रहरीले उद्दार गरी मानवसेवा आश्रमलाई बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रबक्ता तथा प्रहरी नायव उपरिक्षक लालबहादुर धामीले दिनुभएको जानकारी अनुसार प्रहरीले गएको वैशाख ११ गते राती गस्तीको क्रममा दिपायल सिलगढी ४ कुलपातेमा बेवारीसे अवस्थामा फेला पारी निज महिलालाई उद्दार गरी ल्याएको हो ।

निज मानसिक रोगी महिलालाई प्रहरीले उद्दार गरि जिल्ला प्रहरी कार्यालयमा ल्याएपनि त्यहाँ राख्ने ठाउँ नभएपछि अल्पकालीन सेफ हाउसमा पठाएको थियो । सेफ हाउसमा ३५ दिन बढी राख्न नमिल्ने भएपछि निज मानसिक रोगी महिलालाई मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश शाखा कैलालीको संरक्षणमा बुझाइएको प्रहरी प्रबक्ता तथा प्रहरी नायव उपरिक्षक धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले उद्दार गरी ल्यायौ,सेफ हाउसमा ३५ दिन भन्दा बढी राख्न नमिल्ने र खोजी गर्नपनि कोही नआएकाले उनको व्यवस्थान सहज होस भनेर मानवसेवा आश्रमलाई बुझाएकाछौँ ।”

आफ्नो नाम छायाँ सिंह बताउने निज महिलाको हालसम्म परिवार र आफन्तबारे केही खुल्न नसकेको प्रहरीले जनाएको छ । निज महिला एक्लै बरबराउने, मनपरी बोल्ने, रिसाउने, कुटपिट गर्न खोज्ने जस्ता स्वभावहरु देखाउने गरेको डोटी प्रहरीले जनाएको छ । जिल्लामा लामो समय देखी ३÷४ जनासम्म मानसिक रोगीहरु सधै सडकमै करोउदै हिड्ने गरेका देखिन्छन् ।