प्रदेश– १ को राजधानी विराटनगर, नाम तय हुन बाँकी


सरोज यादव, विराटनगर ।
प्रदेश १ को स्थायी राजधानी विराटनगर हुने भएको छ । प्रदेश १ को प्रदेशसभामा सोमबार भएको मतदानपछि विराटनगर राजधानी हुने टुंगो लागेको हो । नेकपाको तर्फबाट प्रमुख सचेतक बुद्धिकुमार भण्डारीले राखेको प्रस्तावमा दुईतिहाइ मत विराटनगरको पक्षमा खसेको थियो । जम्मा ९३ मध्ये ८६ मत विराटनगरलाई राजधानी बनाउने पक्षमा थियो भने विपक्षमा शुन्यमत परेको थियो । प्रदेशको नाम भने टुंगो लागेको छैन ।

विराट बृहत क्षेत्रको विराटनगर, इटहरी र सुन्दर हरैँचामा कार्यालय रहेनछ भन्ने प्रस्ताव पारित दुई तिहाईले पारित भएको हो । यसअघि विराटनगर र धनकुटालाई सदरमुकामा तोक्न प्रदेशसभामा चारवटा प्रस्ताव दर्ताका भएका थिए । नेकपाले विराटनगर स्थायी राजधानी, कार्यपालिका व्यवस्थापिका लगायत अन्य संरचना वृहत विराट क्षेत्र अन्तर्गत विराटनगर, इटहरी र सुन्दरहैंचा क्षेत्र आसपासमा रहनेछ भन्ने प्रस्ताव दर्ता गरेको थियो । नेकपाको तर्फबाट प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले दर्ता गराएको प्रस्तावमा समर्थक लिलम बस्नेत, राजकुमार ओझा, यशोदा अधिकारी र विजयकुमार विश्वास थिए ।

नेकपाले प्रदेश संरचना छर्ने गरी राजधानी दर्ता गराएको भन्दै कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले विराटनगर स्थायी राजधानी हुनुपर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा संघीय समाजवादी फोरमका जयराम यादव र कांग्रेसका शिवनारायण गन्गाईले समर्थन गरेका थिए । धनकुटा राजधानी प्रस्ताव गर्दै कांग्रेसकी लीला सुब्बाले दर्ता गराएको प्रस्तावको समर्थकमा कांग्रेसका प्रकाशप्रताप हाङ्गाम र रामचन्द्र लिम्बू समर्थक थिए । नेकपाकै निरन राईले दर्ता गरेको धनकुटा राजधानीको प्रस्तावमा नेकपाका इन्द्रमणि पराजुली र कुसुमकुमारी श्रेष्ठ समर्थक थिए । यी सबै प्रस्ताव सोमबार बसेको प्रदेशसभा बैठकमा फिर्ता भएका थिए ।

यसअघि विराटनगरमा आन्दोलनरत पक्ष र प्रदेश सरकार बिच सोमबार विराटनगर स्थित एक होटलमा भएको वार्तामा कार्यपालिका, व्यवस्थापिकलगायतका सम्पूर्ण संरचनाहरुसहित प्रदेश नं. १ को स्थायी राजधानी विराटनगर राख्ने सहमति भएपछि स्थायी राजधानी विराटनगर बन्ने पक्का भएको थियो ।

सोमबार दिउँसो भएको सर्वपक्षीय वार्तामा मुख्यमन्त्री शेरधन राईले राजधानी विराटनगरमा नै रहने र कार्यपालिका र व्यवस्थापिकाको संरचना पनि विराटनगर भन्दा बाहिर नलैजाने प्रतिवद्धता जनाएसँगै आन्दोलन फिर्ता भएको छ ।

प्रदेश सरकारले छलकपटपूर्ण तरिकाले राजधानी अन्यत्र सार्ने षड्यन्त्र गरेको भन्दै विकेन्द्रीत नगरी विराटनगरलाईनै स्थायी राजधानी तोक्न माग गर्दै आइतबार विराटनगर महानगरपालिकाको अगुवाईमा भएको सर्वपक्षीय बैठकले आन्दोलनमा जाने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सोमबार विहानैदेखि बन्द हड्ताल सहित ठाउँ ठाउँमा प्रदर्शन गरिएको थियो ।