आगलागीमा ५० लाख बराबरको क्षति


दाङ ।
दाङको शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलाका तीन घरमा आगलागी हुँदा रु ५० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार तीन घरमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा सो क्षति भएको हो ।

खेतमा तोरीको डाँठमा सल्काएको आगोलाई हावाले उडाएर घरमा लगेपछि आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीय बुद्धिराम रेउले, उहाँका भाइ गौरिलाल रेउले र बुद्धिरामका छोरा कुलबहादुर रेउलेको घर जलेर पूर्णरुपमा क्षति भएको हो । आगो करीब अपराह्न ४ बजेतिर नियन्त्रणमा आएको थियो । आगलागीबाट मानवीय क्षति नभए पनि एउटा मोटरसाइकल, छ बाख्रा, दुई गोरु, दुई बङ्गुर र एक बँदेल मरेका छन् । तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए ।

पीडितलाई रु १० हजार

आगलागी पीडितलाई शान्तिनगर गाउँपालिकाले रु १०÷१० हजार रकम प्रदान गर्ने भएको छ । तीनघरलाई सो दरले रु ३० हजार रुपैयाँ दिइने गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताउनुभयो ।

सामुदायिक वनमा आगलागी

शान्तिनगरको वडा नं ३ को हरियाली सामुदायिक वनमा आगालागी भएको छ । आगलागीबाट सामुदायिक वनको १५ बिगाह क्षेत्रफलमा क्षति भएको प्रहरीले जनाएको छ । समयमै प्रहरी तथा स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएकाले घरमा क्षति नभएको प्रहरी नायब उपरीक्षक शाहले बताउनुभयो ।
रासस